चरम निराशाको अवस्थामा देश सम्हाल्ने शक्ति कांग्रेस हो: सभापति थापा


काठमाडाैँ । मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा फसेको अवस्थामा रहेको भन्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सम्हाल्ने जिम्मेवार शक्तिको खाँचो रहेको बताएका छन् ।

कांग्रेस कास्कीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै सभापति थापाले उत्तेजना फैलाउनेभन्दा पनि धैर्य, विवेक र क्षमताका साथ देशलाई निकास दिने भूमिकामा कांग्रेस उभिनुपर्ने बताए ।

समाजमा नागरिकहरूबीच गहिरो रीस र राज्यका संयन्त्रहरूप्रति चरम अविश्वास देखिएको उल्लेख गर्दै उनले यस्तो संवेदनशील अवस्थामा जिम्मेवार राजनीतिक शक्तिको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

“अहिले देश सम्हाल्ने शक्ति चाहिएको छ । आगो जसले पनि लगाउन सक्छ, तर निभाउन धैर्यता र क्षमता चाहिन्छ । त्यो तागत हामीले राख्नुपर्छ,” उनले भने, “उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ । त्यो नेपाली कांग्रेस हो । हामीले मिलाउँछौँ, हामीले सम्हाल्छौँ ।”

सभापति थापाले समाजमा नागरिकहरूको असन्तुष्टि गहिरिँदै गएको भन्दै त्यसको जवाफ सुधारमार्फत् दिनुपर्ने बताए । नागरिकमा राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति अविश्वास बढ्दै जाँदा देशले नै आत्मविश्वास गुमाएको जस्तो अवस्था सिर्जना भएको उनको भनाइ थियो । “समाजमा ठूलो कोलाहल छ । भित्रभित्रै आगो बलिरहेको छ । यस्तो बेलामा यसलाई सम्हाल्ने जिम्मेवारी नेपाली कांग्रेसको हो,”उनले भने ।

मुलुकमा फैलिएको निराशाको मुख्य कारण भ्रष्टाचार भएको उनको तर्क छ । नागरिकलाई सबैभन्दा ठूलो शत्रु को हो भनेर सोध्दा भ्रष्टाचार भन्ने जवाफ आउने गरेको उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्धको सबैभन्दा ठूलो लडाकुका रूपमा नेपाली कांग्रेस अघि बढेको दाबी गरे ।

“टाउकोदेखि पुच्छरसम्म हरेक नेता एउटा सङ्कल्प बोकेर आएको छ,” उनले भने, “जसरी हिजो देशलाई हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट पनि बाहिर निकाल्छौँ ।”