खाद्य सुरक्षा र पोषणमा लैङ्गिक समानता आवश्यक, नीतिगत सुधारमा सरोकारवालाहरूको जोड


काठमाडाैँ । खाद्य सुरक्षा तथा पोषणको क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन गर्दै महिला तथा बालिकाको सशक्तिकरणका लागि नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा जोड दिन सरोकारवालाहरूले आग्रह गरेका छन्।

शुक्रबार राजधानीमा आयोजित विशेष छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले खाद्य प्रणालीमा विद्यमान लैङ्गिक असमानता अन्त्य नगरी दीगो खाद्य सुरक्षा हासिल गर्न नसकिने स्पष्ट पारेका हुन्।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) र कमिटी अन वर्ल्ड फुड सेक्युरिटी (सीएफएस) को सहकार्यमा आयोजित कार्यक्रममा कृषि तथा खाद्य प्रणालीमा महिलाको भूमिका, पहुँच र अधिकार सुनिश्चित गर्ने उपायहरूबारे व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा नेपालको कृषि क्षेत्रमा महिलाको उल्लेखनीय योगदान हुँदाहुँदै पनि स्रोत, साधन र निर्णय प्रक्रियामा उनीहरूको पहुँच अझै कमजोर रहेको तथ्य औंल्याइएको छ।

प्रस्तुत तथ्याङ्कअनुसार कृषिमा ७४ प्रतिशतभन्दा बढी महिला श्रमशक्ति संलग्न रहे पनि जग्गा स्वामित्वमा उनीहरूको हिस्सा अत्यन्त न्यून रहेको छ। यस किसिमको संरचनागत असमानताले महिलाको आर्थिक सशक्तिकरणसँगै खाद्य सुरक्षा र पोषणमा समेत नकारात्मक प्रभाव पारिरहेको सहभागीहरूको निष्कर्ष थियो।

सरोकारवालाहरूले यस्तो असमानता सम्बोधन गर्न नीति, कानून, कार्यक्रम र लगानीमा लैङ्गिक समानतालाई मुख्यधारमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्। विशेषगरी कृषि उत्पादन, बजार पहुँच, वित्तीय सेवा र प्रविधिमा महिलाको पहुँच बढाउने नीतिगत सुधार अपरिहार्य रहेको धारणा व्यक्त गरिएको थियो।

एफएओका नेपालस्थित सहायक प्रतिनिधि अरुण जिसीले खाद्य सुरक्षा र पोषणमा दिगो सुधार ल्याउन लैङ्गिक समानतामा आधारित अग्रगामी कदम चाल्नुपर्ने बताए। उनले छलफलबाट तय भएका मार्गनिर्देशनहरूलाई स्थानीय तहसम्म पुर्‍याई प्रभावकारी रूपमा कार्यान्वयन गर्न एफएओ प्रतिबद्ध रहेको जानकारी दिए ।