बैतडी बस दुर्घटनाका मृतकका परिवारलाई प्रदेश सरकारको एक लाख सहयोग, घाइतेको उपचार खर्च पनि व्यहोर्ने


काठमाडाैँ । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनामा मृत्यु भएका प्रत्येक व्यक्तिका परिवारलाई मानवीय सहयोगस्वरूप एक–एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले दुर्घटनामा घाइते भएकाहरूको उपचार खर्चसम्बन्धी जिम्मेवारी पनि प्रदेश सरकारले लिने निर्णय गरेको छ । सरकारी अस्पतालमा भर्ना भई उपचाररत घाइतेहरूको औषधि र उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने जनाइएको छ ।

साथै, घाइतेको अवस्था गम्भीर भई थप उपचारका लागि काठमाडौं लैजानु पर्ने अवस्था आएमा हेलिकोप्टरको व्यवस्था गरिने प्रदेश सरकारले जनाएको छ ।

बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको बस बिहीबार राति पुर्चौडी नगरपालिका–७ बडगाउँमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर १३ जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन् ।

घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पतालमा, पाँच जनाको धनगढीस्थित निसर्ग अस्पतालमा र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रदेश सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहत र उपचारमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाएको छ ।