धादिङमा दुई बस ठोक्किँदा एकको मृत्यु


काठमाडाैँ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर दसकिलो क्षेत्रमा आज बिहान साढे ७ बजे दुई बस आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको दाङ–काठमाडौँ बस र बागमती प्रदेश ०१–०६ ख ५२०८ नम्बरको काठमाडौँबाट रसुवातर्फ जाने रिजर्भ बस ठोक्किएका थिए।

ठोक्किँदा एक बस सडक किनारमा रहेको टिनले छाएको कच्ची पसलमा ठोक्किँदा पसलमा पनि क्षति पुगेको छ।

पसलमा चिया पिउन बसिरहेका धादिङ धुनिवेशी नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय सुजन तामाङ घाइते भएका थिए र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा पसलका सञ्चालक, बाँके वैजनाथ गाउँपालिका वडा नम्बर १ का ५४ वर्षीय खगेश्वर शर्मा र रसुवा जाने बसमा सवार ८ वर्षीय सफलता पुलामी मगर घाइते भएका छन्। प्रहरीले दुर्घटनामा संलग्न बसका चालकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।