काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले कार्बन फाइनान्सिङलाई प्रभावकारी रूपमा विस्तार गर्न स्पष्ट नीति आवश्यक रहेको बताएका छन् ।
आइतवार ललितपुरमा आयोजित कार्बन व्यापारसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्पष्ट नीतिगत व्यवस्था भएमा बैंकहरूले कार्बन फाइनान्सिङ विस्तार गर्ने बताएका हुन् । उनले हाल बैंकहरूले ग्रिन फाइनान्सअन्तर्गत लगानी गरिरहेको जानकारी दिए।
कार्बन फाइनान्सिङसम्बन्धी स्पष्ट नीति भए लगानीको लागि सहज हुने उनको भनाइ छ । बैंकहरूले कार्बन क्रेडिटलाई वित्तीय सम्पतीका रूपमा बुझ्न र मूल्याङ्कन गर्न सक्ने वातावरण बनाउन प्राविधिक सहयोग र स्पष्ट नीति आवश्यक रहेको बताए ।
उनले कार्बन निवारणसम्बन्धी नियमावली र कार्यविधि परिमार्जन गर्दा निजी क्षेत्रले भोगिरहेका वास्तविक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
निजी क्षेत्रलाई सहभागितामूलक ढंगले अघि बढाएमा मात्र कार्बन फाइनान्सिङ व्यवहारिक र दिगो बन्ने उनको भनाइ छ । उनले कार्बन निवारणको लागि ठूला–ठूला कुरा गर्नुभन्दा पहिले केही सफल नमूना परियोजना (पाइलट प्रोजेक्ट) सुरू गर्नुपर्नेमा जोड दिए । केही नमूना सफल परियोजना बनाउन सकिएमा यसले बैंक र लगानीकर्तामा विश्वास बढाउँने उनको भनाइ छ ।
सरकारले सहजकर्ताको भुमिका खेले नेपालले कार्बन व्यापारमार्फत अर्बौं रुपैयाँ बराबरको राजस्व भित्र्याउनसक्ने श्रेष्ठको दाबी छ । यसका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र विश्वास गर्नुपर्नेमा उनले जोड दिए ।
उनले एफएनसीसीआई कार्बन व्यापारको अधिकार सुनिश्चित गर्न सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न तयार रहेको बताए ।कार्बन व्यापारलाई कतिपयले ‘हावाको व्यापार’ भनेपनि यो अत्यन्तै महत्वपूर्ण व्यापार भएको उनको भनाइ छ । यसबाट मुलुकले आर्थिक फाइदा लिन सक्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस्