काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्म जीवन बिमा कम्पनीहरूको कुल लगानी ८ खर्ब रुपैयाँभन्दा बढी नाघेको छ।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ ओटा जीवन बिमकले विभिन्न क्षेत्रमा गरी ८ खर्ब २९ अर्ब ५० करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन्।
कम्पनीगत रूपमा हेर्दा नेपाल लाइफ इन्स्योरेन्स को लगानी सर्वाधिक रहेको छ। यस कम्पनीले मात्रै २ खर्ब २३ अर्ब १४ करोड ६८ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ। दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले १ खर्ब २२ अर्ब २२ करोड ७ लाख रुपैयाँ लगानी गरेको छ।
समीक्षा अवधिसम्म हिमालयन लाइफ इन्स्योरेन्सले ८४ अर्ब १४ करोड ९ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्स ले ७६ अर्ब ४८ करोड २६ लाख रुपैयाँ लगानी गरेका छन्।
यसैगरी राष्ट्रिय बिमा कम्पनी ले ६६ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ लगानी गर्दा एसियन लाइफ इन्स्योरेन्स को लगानी ५० अर्ब ८ करोड ५५ लाख रुपैयाँ पुगेको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्स ले ४६ अर्ब ९६ करोड ९० लाख रुपैयाँ, मेट लाइफ नेपाल ले ३४ अर्ब ३४ करोड ४३ लाख रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्स ले २६ अर्ब १३ करोड ६ लाख रुपैयाँ लगानी गरेका छन्।
त्यस्तै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ले २४ अर्ब २८ करोड ४० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले २२ अर्ब २० करोड १६ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्स ले १९ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ले १९ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ तथा सन नेपाल लाइफ इन्स्योरेन्स ले १६ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ लगानी गरेका छन्।
क्षेत्रगत रूपमा जीवन बिमा कम्पनीहरूको लगानी मुख्यतः बैंकिङ क्षेत्रमा केन्द्रित देखिएको छ। वाणिज्य बैङ्कहरूको मुद्दति निक्षेपमा सबैभन्दा बढी ५ खर्ब ४७ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ लगानी गरिएको छ। विकास बैङ्कहरूको मुद्दति निक्षेपमा ४६ अर्ब ८ करोड ९८ लाख रुपैयाँ, फाइनान्स कम्पनीहरूको मुद्दति निक्षेपमा ६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ र पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ७ अर्ब १७ करोड रुपैयाँ लगानी रहेको छ।
सरकारको बचतपत्र तथा ऋणपत्रमा ३६ अर्ब ९६ करोड ३७ लाख ९ हजार रुपैयाँ लगानी गरिएको छ भने बैङ्क तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ७४ अर्ब ३५ करोड १३ लाख रुपैयाँ लगानी पुगेको छ। सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ४२ अर्ब ४० करोड ३१ लाख रुपैयाँ तथा सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा १२ अर्ब २३ करोड २९ लाख रुपैयाँ लगानी गरिएको छ।
यस्तै कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा ११ अर्ब ७६ करोड १० लाख रुपैयाँ लगानी भएको छ।
नागरिक लगानी कोष र म्युचुअल फन्डमा ८ अर्ब ६४ करोड ३० लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा ३ अर्ब १२ करोड १० लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा १९ अर्ब ३९ करोड ७३ लाख रुपैयाँ तथा सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा २ अर्ब २३ करोड ६ लाख रुपैयाँ लगानी गरिएको छ। अन्य शीर्षकमा ९ अर्ब ९४ करोड ८ लाख रुपैयाँ लगानी रहेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ।


प्रतिक्रिया दिनुहोस्