काठमाडौँ । गत शनिबार अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरे ।
लामो समयको तनावकाबिच गरिएको आक्रमणमा इरानका सर्वोच्च नेतासहित वरिष्ठ सैन्य तथा सुरक्षाअधिकारीहरू मारिए ।
अहिले आक्रमण र प्रत्याक्रमण जारी छ । इरानले पनि आक्रमणको तुरुन्तै जवाफ फर्कायो ।
सुरुमै सर्वोच्च कमान्डर गुमाएको इरानले प्रत्याक्रमणलाई जारी राखेको छ । इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य बेसलाई तत्कालै निशाना बनायो । इरानले निरन्तर खाडी मुलुकलाई निशानामा राखेको छ ।
अहिलेसम्म इरानले बहराईन,संयुक्त अबर इमिरेट्स, कतार, कुवेतका अमेरिकी सैन्यबेसमाथि मिसाइल आक्रमण गरिरहेको छ ।
कुवेतमा इरानको आक्रमणमा तीन अमेरिकी सैनिक मारिएका छन् ।
अमेरिकी लडाकु जहाज खसेको समाचारहरू आइरहेका छन् । यसबाहेक जोर्डन र इराकमा पनि इरानले मिसाइल आक्रमण गरेको छ । दुबईमा इरानको आक्रमणमा एक नेपालीको समेत मृत्यु भएको छ ।
हेर्दा मुख्यरूपमा अमेरिकी सैन्यबेसमाथि आक्रमणजस्तो देखिए पनि इरानले योजनाबद्ध रणनीतिक ढङ्गले खाडी मुलुकमाथि आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरूले विश्लेषण गरिरहका छन् ।
खाडी मुलुकलाई निशाना बनाइरहँदा उसले के गरिरहेको छ यसबारे इरान प्रष्ट रहेको अलजजिरामा उल्लेख छ ।
लन्डनस्थित किङ्स कलेजका रक्षा अध्ययनका प्राध्यापक रोब गेस्ट पिनफोल्डले अल जजिरासँग कुरा गर्दै भनेका छन् कि ईरानले खाडी मुलुकहरूमा आक्रमण गर्नु ‘एकदमै सोचेको र योजनाबद्ध’ कदम हो ।
उनले थप भनेका छन्,“ईरानले खाडी देशहरूलाई त्यसैले छानिरहेको छ, किनकि यसले ती देशहरूलाई कमजोर र सहज लक्ष्य मानेको छ । ती देशहरूमा इजरायलमा भन्दा सजिलै प्रहार गर्न सकिन्छ ।”
अमेरिकी सैन्य बेसभएको र सहजै प्रहार गर्न सकिने भएका कारणले पनि इरानले खाडी मुलुकमाथि निशाना साँधिरहेको छ ।
खाडी मुलुकको सुरक्षाको जिम्मा अमेरिकाले लिएको छ भन्ने मनोविज्ञानलाई इरानले तोड्न समेत चाहेको देखिन्छ । हुन पनि खाडी मुलुकभित्र अमेरिकाले क्षति बेहोरिरहेको छ ।
यो युद्ध खाडी मुलुकहरूको होइन । उनीहरूले अमेरिकी सेनालाई आफ्नो भूभागमा बेस राख्न दिएका छन् । अमेरिकी सैन्यबेस रहेका मुलुकमा निरन्तर आक्रमण गर्दा रणनीतिक दबाब बढाउन सकिने इरानको दाउ देखिन्छ ।
फिनफोल्डले भनेका छन्,“ खाडी मुलुकरू लडाइँमा उत्रिहाल्ने पक्षमा छैनन् किनभने यो उनीहरूको युद्ध होइन । त्यसैले, इरानले सोचेको छ कि सकेसम्म खाडी मुलुकले ट्रम्प प्रशासनमाथि दबाब बढाएर युद्धविराम गराउन जोड गरुन् । यद्यपी यस्तो सङ्केत भने अहिलेसम्म देखिएको छैन ।”
अहिले खाडी मुलुकबाट अमेरिका र इजरायलको आक्रमणमा एकताको प्रदर्शन भइरहेको जस्तो देखिन् ।
यो सङ्कटपूर्ण अवस्थामा खाडी मुलुकहरू सतहीमा एकताबद्ध, दृढ र सक्षम देखिन चाहन्छन् तर इरानसँग कसरी व्यवहार गर्ने, वा गर्ने कि नगर्ने भन्ने विषयमा गहिरा मतभेदहरू रहेको विश्लेषण छ ।
अहिले खाडी मुलुक अफ्ठेरो अवस्थामा छन् ।
फिनफोल्डले भनेका छन्,“केही खाडी राष्ट्रहरू सैन्य कारबाहीको पक्षमा हुनसक्छन् तर इरानलाई थाहा छ कि ती देशहरू कठिन स्थितिमा छन् किनकि युद्धमा खुलेर सहभागी भएमा उनीहरूलाई अमेरिकी–इजरायल युद्धतर्फ लागेको भनेर बुझिन सक्छ ।”
यतिबेला खाडी मुलुकलाई आफ्नो सार्वभौमिकता जोगाउन सक्ने र आफ्नो हित प्रक्षेपण गर्न सक्ने क्षमता देखाउनुपर्ने बाध्यता पनि छ ।
रोयटर्स र युएस न्युजको विश्लेषणअनुसार इरानले खाडी मुलुकमाथि निरन्तर मिसाइल आक्रमण गरेर अमेरिकाका कुनै पनि क्षेत्रीय सहयोगी सुरक्षित नरहेको सन्देश दिन खोजिरहेको छ ।
योक्रम बढेको अवस्थामा अमेरिकालाई प्रत्यक्ष दबाब पर्नसक्छ । इरानले स्पष्ट रूपमा घोषणा गरेको छ कि अमेरिकी सम्पूर्ण सैन्य संरचना आफ्नो वैध लक्ष्य हुन् ।
यसले गर्दा इरानले गरेको आक्रमण अमेरिकी सैन्य संरचना लक्षितमात्रै व्याख्या हुन्छ जसका कारण खाडी मुलुकले आफ्नो सिमाभित्र आक्रमण हुँदा पनि प्रतिकार गर्ने वा आक्रमणमा उत्रने नैतिक वा वैधानिक हैसियत राख्ने अवस्था छैन ।


प्रतिक्रिया दिनुहोस्