काठमाडौँ । मध्यपूर्वमा फैलिँदै गएको द्वन्द्वका कारण चीनको प्रमुख पेट्राेलियम रिफाइनरी कम्पनी झेजियाङ पेट्रोकेमिकल कर्पोरेसनले उत्पादन कटौती गरेको छ ।
साउदी अराम्कोको लगानी रहेको रिफाइनरीले नियमित मर्मत–सम्भारको कामलाई नियमित भन्दा अगाडि सार्दै प्रतिदिन २ लाख ब्यारेल क्षमता भएको एक क्रुड यूनिट बन्द गर्ने निर्णय गरेको हो ।
कम्पनीका एक प्रतिनिधिले रोयटर्सलाई दिएको जानकारीअनुसार मार्च महिनाभर चल्ने मर्मत कार्यका कारण रिफाइनरीको कुल प्रसोधन क्षमता करिब २० प्रतिशतले घट्नेछ ।
८ लाख ब्यारेल प्रतिदिन कच्चा तेल प्रशोधन गर्न डिजाइन गरिएको यो रिफाइनरी चीनका सबैभन्दा ठुला प्रसोधन कम्पनीमध्ये एक हो । फेब्रुअरीमा यसले आफ्नो तोकिएको क्षमताभन्दा माथि पुगेर सञ्चालन गरेको उद्योग स्रोतहरूले बताएका छन् ।
यसैबीच, संयुक्तराज्य अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने होरमुज जलडमरूमध्यमा जहाज आवतजावत लगभग ठप्प भएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् ।
तेल आपूर्तिमा आएको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएको छ । विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता चीनले आफ्नो कच्चा तेलको झण्डै आधा हिस्सा मध्यपूर्वबाट ल्याउने गर्छ ।
आपूर्ति घट्दै गएपछि मूल्य बढिरहेको र त्यसका कारण अन्य चिनियाँ रिफाइनरीहरू पनि उत्पादन कटौती गर्न बाध्य हुन सक्ने उद्योग विश्लेषकहरूको आकलन छ ।
मध्यपूर्वको तनाव भारतको ऊर्जा बजारमा देखिन थालेको छ । कतारमा ग्यास उत्पादन बन्दसँगै भारतीय बजारमा ग्यास आपूर्ति कतौटी गरिएको छ ।
आपूर्तिमा अवरोध आउनसक्ने अनुमानकाबिच भारतीय ग्यास कम्पनीहरूले उद्योगहरूलाई दिइने ग्यास आपूर्ति १० देखि ३० प्रतिशतसम्म घटाएका छन् ।
यी तथ्यहरूबारे जानकारी राख्ने चार उद्योग स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्ससले समाचार प्रकाशन गरेको छ ।
विश्वको चौथो ठुलो ग्यास खरिदकर्ता भारत आयातको ठु्लो हिस्सा मध्यपूर्वमा निर्भर छ ।
मध्यपूर्वबाट ग्याँस आपूर्तिमा अनिश्चितता बढ्दै गए भारतको ग्यास आपूर्ति श्रृङ्खलामा थप दबाब पर्न सक्ने आँकलन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्