काठमाडाैँ । इरानमा नयाँ सर्वोच्च नेता चयनको प्रक्रिया अघि बढ्दै गर्दा राष्ट्रपति मसऊद पेजेस्कियनसहित तीन सदस्यीय परिषद् देशको नेतृत्व गरिरहेका छन् ।
सर्वोच्च नेता चयन गर्ने अधिकारप्राप्त ‘एसेम्ब्ली अफ एक्सपट्र्स’ले औपचारिक निर्णय नलिएसम्म यही संरचना कायम रहनेछ ।
यसैबीच, कुम सहरमा रहेको नेतृत्व चयन गर्ने सभाको स्वामित्वमा रहेको एक भवनमाथि हिजो आक्रमण भएको समाचारमा उल्लेख छ ।
स्थानीय सञ्चारमाध्यमले ती जानकारी अस्वीकार गर्दै, आक्रमण भएको भवन पुरानो भएको र हाल चलिरहेको नेतृत्व चयन प्रक्रियासँग सो स्थानको कुनै सम्बन्ध नभएको जनाएका छन्।
हताहतबारे भने अधिकारीहरूले अहिलेसम्म विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । नयाँ सर्वोच्च नेता कसलाई बनाउने भन्नेबारे केही नामहरू छलफलमा रहेका बताइएका छन् तर औपचारिक निर्णय अझै बाँकी छ ।
देशको नेतृत्व संरचनामा ठुलो क्षति बेहोरोको इरानले नेतृत्व चयन प्रक्रिया जटिल बनिरहेको अलजजिराले उल्लेख गरेको छ ।
अमेरिका र इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेईसहित सशस्त्र बलका प्रमुख, आईआरजीसीका कमाण्डर–इन–चिफ, रक्षा मन्त्री र रक्षा परिषद्का सचिवसहित उच्च सुरक्षा तथा सैन्य अधिकारीहरूको मृत्यु भएको छ ।
यी घटनाले इरानको राजनीतिक नेतृत्व र सैन्य संरचनाबिच पहिलेदेखि रहेको संवेदनशील सम्बन्धलाई थप जटिल बनाएको छ ।
यही कारणले सर्वोच्च नेता चयन प्रक्रिया राजनीतिक, सुरक्षा र रणनीतिक सबै कोणबाट निकै चुनौतीपूर्ण बन्दै गएको विश्लेषकहरूको बुझाइ छ ।


प्रतिक्रिया दिनुहोस्