दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमवार आफ्नो वार्षिक ‘फ्रिडम शिल्ड’ संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । यस अभ्यासले क्षेत्रीय तनाव बढाउन सक्ने र कोरियाली प्रायद्वीपमा शान्ति खलबलाउन सक्ने भन्दै सियोलका नागरिक समूहहरूले विरोध प्रदर्शन गरेका छन् ।
दक्षिण कोरियाको जोइन्ट चिफ्स अफ स्टाफकाअनुसार मार्च १९ सम्म ११ दिन चल्ने यस अभ्यासमा वास्तविक सेनाको चालबाजी समावेश हुने २२ वटा फिल्ड ट्रेनिङ (मैदानी प्रशिक्षण) अभ्यासहरू रहेका छन् ।
सियोल र वासिङ्टनले यस अभ्यासलाई रक्षात्मक प्रकृतिको भनेर वर्णन गरेका छन् । तर आलोचकहरू यस्ता ठूला युद्ध खेलहरूले यस क्षेत्रमा टकराव बढाउने बताउँछन् । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (उत्तर कोरिया) ले लामो समयदेखि यी अभ्यासहरूलाई आक्रमणको पूर्वाभ्यास भन्दै निन्दा गर्दै आएको छ ।
सोमबार मध्य सियोलस्थित दक्षिण कोरियामा रहेको अमेरिकी दुतावास अगाडि भएको विरोध ¥यालीमा, कार्यकर्ता र नागरिक समूहहरूले यस अभ्यासको निन्दा गर्दै यसलाई तुरुन्त रोक्न माग गरेका छन् ।
प्रदर्शनकारीहरूले संयुक्त अभ्यासले कोरियाली प्रायद्वीपमा शान्तिलाई खतरामा पार्ने र अन्तर–कोरियाली मेलमिलापको सम्भावनालाई बाधा पु¥याउने तर्क गरेका छन् ।
¥यालीका वक्ताहरूले अभ्यास अघि अमेरिकी सेना र दक्षिण कोरियाली सेनाले गरेको भर्खरैको संयुक्त विशेष अपरेशन प्रशिक्षणको पनि आलोचना गरे। उनीहरूले दाबी गरे कि यसले मध्य पूर्वको द्वन्द्वमा प्रयोग गरिए जस्तै शत्रुको नेतृत्वलाई लक्षित गर्ने अपरेशनहरूको अनुकरण गरेको थियो ।
प्रदर्शनकारीहरूले दक्षिण कोरियाली सरकारलाई अमेरिकासँगको संयुक्त सैन्य अभ्यास रोक्न र विस्तारित सैन्य शक्तिमाथिको निर्भरतामा पुनर्विचार गर्न आग्रह गर्दै प्रायद्वीपमा तनाव कम गर्न कूटनीतिक पहलको लागि आह्वान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्