काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रभु बैंकका कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोललाई पक्राउ गरेको छ ।
बैंकिङ कसुरको आरोपमा डंगोललाई आज पक्राउ गरिएको ब्युरोले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।
ब्युरोले बैँकका तत्कालीन सिइओ अशोक शेरचनसमेत उपर अनुसन्धान भईरहेको बैंकिङ कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा सङ्कलन भएका तथ्य प्रमाण र विज्ञ टोली समेतले अध्ययन विश्लेषण गर्ने क्रममा डंगोललाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
ललितपुर महानगरपालिका वडा नं.२७ घर भएका डंगोलले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून बिपरित कार्य गरी प्रभु बैंक लि. बाट प्रभु म्यानेजमेन्ट प्रा.लि. समेतमा प्रवाह भएको कर्जा दुरुपयोग गर्ने/गराउने कसूर गरेको ब्युरोको आरोप छ ।
ब्युरोले उच्च अदालत, पाटन, ललितपुरबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति लिई आज पक्राउ गरेको हो । काठमाडौँ थापाथलीबाट पक्राउ परेका डंगोलमाथि अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्