अमेरिका इरानसँगको द्वन्द्व अन्त्य गर्न तयार छैनः ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार वासिङ्टन इरानसँगको द्वन्द्व अन्त्य गर्न तयार नभएको बताएका हुन् । जुन द्वन्द्व अहिले तेस्रो सातामा प्रवेश गरेको छ । उनले आफूहरु अहिल्यै छोड्न तयार नरहेको तर निकट भविष्यमा युद्ध अन्त्य हुने बताए ।

इरानसँगको द्वन्द्वपछिको अवस्था (डे–आफ्टर) को लागि ह्वाइट हाउससँग कुनै योजना छ कि छैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले कुनै विस्तृत विवरण दिएनन् । उनले फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि ठूलो मात्रामा आक्रमण शुरु गरेदेखि इरान हरेक दृष्टिकोणबाट तहसनहस भएको आफ्नो दाबी दोहो¥याए ।

इरानलाई पुनर्निर्माण गर्न एक दशक लाग्ने उनले बताउनु भयो । ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै यदि इरानमा अमेरिकी स्थल सेना पठाएको खण्डमा अमेरिकाको लागि अर्को भियतनाम युद्ध जस्तो बन्नसक्ने कुरामा आफूलाई कुनै डर नभएको बताए ।

स्थानीय विश्लेषकहरूका अनुसार यदि वासिङ्टनले इरानको मुख्य तेल निर्यात केन्द्र खार्ग टापु कब्जा गर्ने र इस्फाहानमा रहेको भूमिगत केन्द्र (जहाँ धेरै आणविक सामग्री भण्डारण गरिएको विश्वास गरिन्छ) लाई लक्षित गर्ने योजना बनाएको छ भने, अमेरिका वा इजरायलको स्थलगत कारबाही आवश्यक पर्न सक्छ ।