इरानी क्षेप्यास्त्र रोक्न नसकेपछि इजरायलको राडार क्षमतामा प्रश्न


काठमाडौँ । इरानले इजरायलमाथि मिलाइल तथा क्लस्टर बमले गरेको नयाँ आक्रमणले मंगलबार राति इजरायलभर व्यापक त्रास फैलाएको छ ।

पछिल्ला आक्रमणमा तेलअविभ नजिकै दुई इजरायली नागरिकको ज्यान गएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमण भएको आवासीय भवनमा ठुलो प्वाल परेको छ, र विस्फोट हुँदा त्यहाँ रहेका मानिसहरू सुरक्षित कोठामा जाने अवसरसमेत पाएनन् ।

यो घटनापछि विश्लेषकहरू र सुरक्षामा चासो राख्ने निकायहरूले इजरायलको राडार तथा प्रारम्भिक चेतावनी प्रणालीमा प्रभाव पारेको हुनसक्ने आकलन गरेकाे अलजजिराले उल्लेख गरेकाे छ ।

निरन्तर आक्रमणका कारण इरानबाट प्रक्षेपण हुने क्षेप्यास्त्रलाई समयमै वा प्रहार अघि नै पहिचान गर्ने क्षमतामा गिरावट आएको आकलन हुन थालेको छ ।

पछिल्ला दिनमा प्रहारका केही मिसाइलहरू राडार प्रणाली छलेर सहरका आवासीय क्षेत्रमै विस्फोट हुन पुगेका घटनाले प्रणालीको दक्षताबारे थप प्रश्न उठेको छ ।

इजरायलले सन् १९९० को गल्फ युद्धपछि ‘मामाद’ भनिने सुरक्षित कक्षहरू घर–घरमा अनिवार्य गरेको थियो ।

यस्तो कोठा रासायनिक तथा क्षेप्यास्त्रबाट सुरक्षित रहन डिजाइन गरिएको हुन्छ ।

पछिल्लो आक्रमणले भने सुरक्षा संरचना बलियो भए पनि चेतावनी साइरन समयमै नबज्दा नागरिकलाई सुरक्षित कक्ष उपयोग गर्ने अवसर नै नपाएको देखिएको छ ।