काठमाडाैँ । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा भारी वर्षासँग सम्बन्धित घटनामा कम्तीमा १७ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन्।
स्थानीय अधिकारीहरू र रेस्क्यु ११२२ का कर्मचारीहरूका अनुसार अविरल वर्षापछि शहरका विभिन्न क्षेत्रमा मानवीय क्षतिको खबर आएको हो, जसले शहरी पूर्वाधारको कमजोर अवस्था उजागर गरेको छ।
प्राप्त जानकारीअनुसार कराँचीको बलदिया टाउन क्षेत्रमा पर्खाल भत्किँदा मात्रै ११ जनाको मृत्यु भएको छ। त्यस्तै, शहरका अन्य विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा थप ६ जनाले ज्यान गुमाएका छन्। कायद आबाद क्षेत्रमा घरको छाना भत्किँदा एक दम्पतीको मृत्यु भएको पुष्टि गरिएको छ।
कराँचीका मेयर मुर्तजा वहाबले सहरमा तीव्र हावाहुरीसहित भारी वर्षा भइरहेको जानकारी दिँदै सर्वसाधारणलाई अत्यावश्यक बाहेक बाहिर ननिस्कन आग्रह गरेका छन्।
यसैबिच सिन्ध प्रान्तका स्थानीय सरकार मन्त्री नासिर हुसेन शाहले आँधीबेहरीसहितको वर्षापछि कराँचीसहित सम्पूर्ण प्रान्तमा उच्च सतर्कता (हाई अलर्ट) घोषणा गरिएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्