बालेन: राम कि रावण ? लुसिफर कि झरेको तारा ? 


कृष्ण ज्ञवाली

नेपाली राजनीतिको रङ्गमञ्चमा अहिले एउटा यस्तो दृश्य मञ्चन भइरहेको छ, जसलाई आगामी पुस्ताले ‘अहंकारको पतन र आशाको उदय’ का रूपमा पढ्नेछन्। 

एउटा पक्षमा छन्, दशकौँदेखि सत्ताको बागडोर सम्हालेका, जेल र संघर्षको इतिहास बोकेका तर ‘हत्या’ जस्तो गम्भीर आरोप लागेका केपी शर्मा ओली। 

अर्कोतिर छन्, केवल एउटा लौरो लिएर राजनीतिमा छिरेका, युवाहरूका ढुकढुकी र विकासका पर्याय बालेन्द्र शाह (बालेन)। ओलीले आफूलाई सर्वशक्तिमान मान्थे! यो पीएचडी केही होइन, हावाबाट बिजुली, रेल, घर-घरमा ग्यासका पाइप, विदेशी भूमिमा नेपाली झन्डा बोकेको पानीजहाज के हो के के? यस्ता गफ दिँदै नेपाली राजनीतिमा एउटा घमण्डी हास्यकलाकारको रूपमा स्थापित गराए। ओलीका यस्ता सनकमा हो मा हो मिलाउने प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, शंकर पोख्रेल लगायतका झुन्ड छन्।

ऐतिहासिक पृष्ठभूमि: झापा विद्रोह र ‘हत्या’ को दाग

केपी शर्मा ओलीको राजनीतिक जग २०२८ सालको ‘झापा विद्रोह’ मा उभिएको छ। तत्कालीन समयमा ‘वर्ग शत्रु सफाया’ को नाममा भएको त्यो आन्दोलनमा धेरै व्यक्तिको विभत्स हत्या भयो।

दोषी ठहर र जेल जीवन:

ओलीलाई सोही हत्याकाण्ड र राज्यविरुद्धको अपराधमा संलग्न रहेको आरोपमा १४ वर्ष जेल सजाय सुनाइएको थियो। उनले आफ्नो युवावस्थाको लामो समय जेलमा बिताए, जसलाई उनले पछि ‘त्याग’ को रूपमा बेचे। यस्तो व्यक्ति खासमा राजनीतिमा आउनै नमिल्ने हो।

नैतिक प्रश्न:

 राजनीतिमा हिंसाको प्रयोग गरेर शक्ति आर्जन गर्ने परिपाटीको सुरुवात गर्ने पात्रमध्ये ओली एक थिए। इतिहासकारहरूका अनुसार, कैयौँ निर्दोष व्यक्तिहरूलाई ‘सामन्त’ को ट्याग लगाएर मारिएको त्यो घटना ओलीको राजनीतिक करियरको एउटा कालो धब्बा हो, जुन अहिलेको सचेत पुस्ता (जेनजी) ले भुल्न सकेको छैन र भुल्ने पनि छैन!

२. केपी ओलीको ‘लंका’ र युवाहरूमाथिको दमन

हिन्दू पौराणिक ग्रन्थ रामायणमा रावणले आफ्नो लंकालाई सुनको बनाएका थिए। उनी त्यहाँका जनतामाझ लोकप्रिय पनि थिए, तर उनको अहंकार र अरूमाथि गर्ने दमनले उनलाई अन्ततः विनाशको बाटोमा पुर्‍यायो।

ठ्याक्कै त्यस्तै, झापा-५ ओलीका लागि एउटा अभेद्य लंका जस्तै थियो। त्यहाँ उनले आफ्नो ‘शक्ति’ र ‘डर’ दुवै कायम राखेका थिए। तर, प्रधानमन्त्री हुँदा र पार्टी अध्यक्षको रूपमा रहँदा उनले देखाएको कार्यशैली, विशेष गरी कलेज पढ्ने विद्यार्थीहरू र युवा आन्दोलनकारीहरूमाथि गरिएको प्रहरी दमन, पानीको फोहोरा र लाठीचार्जले नयाँ पुस्तामा उनीप्रति ठूलो घृणा पैदा गरिदियो।

‘हाम्रा साथीहरूलाई जेल हाल्ने र मार्ने शासक’ भन्ने छविले युवाहरूको मनमा घर गर्‍यो। देश र विदेशमा भएकाहरूले एमाले भनेको बाल हत्याराको पार्टी हो भन्ने नजिर स्थापित गरायो। 

३. बालेन्द्र शाहको ‘राम’ अवतार र झापाको शिलान्यास

बालेन शाहले काठमाडौँको सडकबाट सुरू गरेको अभियान केवल फोहोर व्यवस्थापनमा मात्र सीमित रहेन। उनले ती स्थापित नेताहरूलाई चुनौती दिए, जसलाई कसैले औँला ठड्याउनसम्म डराउँथे। 

ओलीले ‘कसैको दम छ उनीसँग झापामा आएर चुनाव लड्ने भनेर धम्किपूर्ण शैलीमा भने?’ अनि बालेन आएको पनि नबिर्साैँ। 

जब बालेनको टोली र उनको विचार ओलीको ‘गढ’ मानिने झापा पुग्यो, त्यहाँको दृश्य बदलिएको थियो। ओलीले वर्षौँदेखि सिर्जना गरेको ‘अजेय’ भ्रमलाई बालेनले सजिलै तोडिदिए। 

बालेनको चुनावी रणनीति र युवाहरूसँगको प्रत्यक्ष संवादले ओलीका पुराना कार्यकर्ताहरूलाई समेत सोच्न बाध्य बनायो।

बालेनले आफ्ना भाषणहरूमा जहिले पनि ‘पुरानो पुस्ताको रगत र पसिनाले देश बनेन, अब मस्तिष्कले देश बनाउनुपर्छ’ भन्ने सन्देश दिए। उनले ओलीका ती उखानटुक्का र व्यङ्ग्यलाई ‘काम’ ले जवाफ दिए। 

झापा-५ जस्तो ठाउँमा, जहाँ ओलीको व्यक्तिगत पकड थियो, त्यहाँ विपक्षी र स्वतन्त्र शक्तिहरूको उदय हुनु आफैँमा एउटा ठूलो राजनीतिक भूकम्प थियो।

 ओलीले सोचेका थिएनन् कि उनको आफ्नै आँगनमा उनलाई चुनौती दिने कोही जन्मनेछ। तर, बालेनको लहरले ओलीका ‘भोट बैङ्क’ भनिएका युवाहरूलाई आफ्नो पक्षमा पार्‍यो। निर्वाचनको नतिजाले देखाएको छ कि जनता अब हत्या, हिंसा र जेल जीवनको ‘इमोशनल ब्ल्याकमेलिङ’ मा फस्न तयार छैनन्।

आधुनिक रामायणको पाठ

रावण जतिसुकै शक्तिशाली भए पनि, उसले रामको सरलता र सत्यको अगाडि घुँडा टेक्नै पर्‍यो। केपी ओलीले आफ्नो लङ्का (झापा) मा जतिसुकै ठूला महल बनाए पनि, जनताको भावना र युवाहरूको भविष्यसँग खेलबाड गर्दा उनको राजनीतिक करियरमा “बालेन” नामक एउटा यस्तो पात्र आइदिए, जसले उनको विरासतलाई बालुवाको घरजस्तै ढालिदिए। 

यो केवल बालेनको जित होइन, यो ती हजारौँ विद्यार्थी र युवाहरूको जित हो, जो ‘पुराना शासक’ को दमनबाट मुक्त हुन चाहन्थे। इतिहासले सावित गरेको छ-अहंकारले लङ्का जल्छ र परिवर्तनले नयाँ युग जन्माउँछ। पहिले बच्चा मारे, अनि आगो लागेको हो देशभरि। केही मिडिया माफियाले उल्टा बनाउने कोसिस गरे, तर अहिलेको सचेत जनताको अगाडि सकेनन्!

लुसिफर?

आफूलाई विश्लेषक दाबी गर्ने सौरभले बालेनलाई बाइबलको लुसिफरको संज्ञा दिए! खासमा सौरभको अल्पज्ञान यहाँ देखिन्छ कि त्यो लुसिफरको बाइबलको प्रसङ्ग यहाँ मिल्दैन! किनकि बालेन स्वर्गबाट झरेका तारा होइनन्, कुनै ‘एनालोजी’ बिना जबर्जस्ती लादिदिए।

यसअघि पनि नारायण वाग्ले कान्तिपुरको सम्पादक हुँदा, २०६२/२०६३ को आन्दोलनमा ‘भिजिलान्ते’ भनेर घुसपैठ गर्ने समूहलाई भने! तर ‘भिजिलान्ते’ शब्दको अर्थ बेग्लै हुन्छ। नेपालमा कसरी तथाकथित पढेलेखेका सौरभजस्ताले जनताको आँखामा छारो हालेर दिग्भ्रमित बनाउँछन् भन्ने कुरा उदाहरण हो यो।

लुसिफर होइन, ‘झरेको तारा’!

लुसिफरको कुरालाई पछि जोन मिल्टनले ‘झरेको तारा’ भनेका छन्। त्यो प्रसङ्ग यहाँ बालेनका लागि मिल्छ। ‘लुसी’ भनेको अंग्रेजीमा प्रकाश हो, अनि ‘फर’ को अर्थ लिएर आउने हो। मिल्टनले स्वर्गमा सेवा गर्नु भन्दा नर्कमा झरेर राज गर्नु उत्तम हुन्छ भनेका छन् र लुसिफरलाई ‘ट्र्याजिक हिरो’ को संज्ञा दिएका छन्! त्यो भने यहाँ मिल्छ! त्यसैले लुसिफर होइन, झरेको तारा भन्न मिल्छ यहाँ।

अब के त? केही समय दिऔँ । सरकार गठन र सरकारको कदमहरू नियालौँ । अनि बोलौँला । 

दोस्रो लेखमा थप… 

धन्यवाद!