विदेशी विनिमय सञ्चिती १० प्रतिशतले बढ्यो


काठमाडौं । २०७९ असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिती पुष महिनामा १० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै विदेशी विनिमय सञ्चिती १० प्रतिशत वृद्धि भएर १३ खर्ब ३७ अर्ब २९ करोड रुपैँया पुगेको जनाएको छ ।

२०७९ असारमा विदेशी विनिमय सञ्चिती १२ अर्ब १५ अर्ब ८० करोड रुपैँया रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिती असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको थियो भने पुष मसान्तसम्म ८.० प्रतिशतले वृद्धि भएर १० अर्ब ३० करोड कायम भएको छ ।

बैंकिङ क्षेत्रसँगग रहेको विदेशी विनिमय सञ्चिती अनुसार १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैँया सञ्चिती रहेकोमा २०७९ पुस मसान्तमा १२.० प्रतिशतले वृद्धि भई ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिती २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रुपैँया रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई १५३ अर्ब ९१ करोड रुपैँया कायम भएको छ ।
२०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।