काठमाडौँ । हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्यन प्राधिकरण निमित्तको भरमा चलिरहेको छ ।
तत्कालीन महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएसँगै निलम्बनमा परेपछि सुशीला कार्की सरकारले देवचन्द्रलाल कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो ।
मन्त्रीस्तरीय निर्णयबाट कर्णले निमित्तको जिम्मेवारी सम्हालेको चार महिना पुगेको छ ।
कर्णलाई महानिर्देशक बनाउने तयारी भइरहेका बेला सौर्य एयरलाइन्सको उडान अनुमतिमा विवादमा तानिएपछि कार्की नेतृत्वको सरकार हच्किएको थियो ।
सौर्य एयरलाइन्सको एयर अपरेसन सर्टिफिकेट(एओसी) दिएपछि कर्ण विवादमा परेका थिए । विवादमा तानिएपछि सुशीला कार्की नेतृत्वको सरकार कर्णलाई महानिर्देशक बनाउनबाट पछि हटेको थियो ।
तत्कालीन पर्यटनमन्त्रीको समेत जिम्मेवारी सम्हालेका अनिलकुमार सिन्हाले कर्णलाई महानिर्देशक बनाउन जोडबल गरे पनि प्रधानमन्त्री कार्कीले राम्रो सन्देश नजाने भन्दै रोकेकी थिइन ।
उच्च स्रोतका अनुसार सिन्हालाई तत्कालीन प्रधानमन्त्री कार्कीले कर्णबाहेकको नाम प्रस्ताव गर्न आग्रह गरेकी थिइन । सिन्हाले कर्णबाहेक अरूको नाम सिफारिस गर्न मानेनन् र नियुक्ति हुन सकेन ।
अहिले प्राधिकरणमा १२ औँ तहको कर्मचारीमा कर्णसहित प्रेमनाथ ठाकुर र जगननाथ निरौलामात्रै छन् । ठाकुर २०८३ मङ्सिरमा सेवा निवृत्त हुँदैछन् भने कर्ण २०८४ वैशाखमा र निरौला २०८५ मा सेवा निवृत्त हुनेछन् ।
युरोपियन युनियन (इयू)को युरोपेली आयोगले नेपालको हवाइ क्षेत्रलाई कालो सूचीमा राखेको छ ।
इयूले प्रत्येक वर्ष अद्यावधिक गर्ने ‘इयू सेफ्टी लिस्ट’ मा नेपालका हवाईजहाज र हेलिकप्टर सेवा प्रदायक सबै कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएका सबै कम्पनीलाई कालो सूचीमा राख्ने गरिएको छ । युरोपियन युनियनको कालो सूचीमा रहेको नेपालको हवाई क्षेत्रलाई तत्काल त्यसबाट निकाल्नुपर्ने छ । यस्तो अवस्थामा प्राधिकरणलाई लामो समय नेतृत्वविहिन राख्न नहुने यस क्षेत्रका जानकारहरूको भनाई छ ।
हवाई क्षेत्र थप सुधार गर्नुपर्ने संवेदनशील समयमा दुर्घटनापछि निलम्बनमा परेको सौर्य एयरलाइन्सको एओसी दिँदा हेलचक्रयाइँ गरेको आरोप कर्णमाथि लागेको छ ।
२०८१ साउन ९ गते पोखरा उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि प्राधिकरणले सौर्य एयरलाइन्सको एओसी अनिश्चितकालका लागि निलम्बन गरेको थियो ।
पुस ४ गते प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी पाएसँगै कर्णले माघ ४ गते नै सौर्य एयरलाइन्सको एओसी नवीकरण गरेका थिए । एउटै जहाजकै आधारमा एओसी दिन नहुने आवाज उठेको थियो ।
कर्ण आएपछि एउटै जहाजको भरमा सौर्यले एओसी पाएको थियो । कर्णले अनुमति दिए पनि सौर्य एयरलाइन्सले अझै उडान गर्न सकेको छैन । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सौर्य एयरलाइन्सले एओसी पाए पनि उडान सञ्चालन गर्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्