विकल्प र पूर्वजानकारी बिना बस्ती हटाइएकोमा बल्खुका सुकुम्बासीको आक्रोश


बल्खुका सुकुम्बासीको आक्रोश : विकल्प र पूर्वजानकारी बिना बस्ती हटाइएको गुनासो

काठमाडौं । सरकारले बल्खु क्षेत्रमा रहेका अनधिकृत संरचना र सुकुम्बासी बस्ती हटाउने प्रक्रिया अघि बढाएपछि स्थानीय बासिन्दाले तीव्र असन्तुष्टि जनाएका छन् ।

बल्खुस्थित सुकुम्बासी बस्तीमा सात जनाको परिवारसहित बस्दै आएकी अम्बिका पुरीले कुनै पूर्वजानकारी नदिई बस्ती हटाइएको भन्दै गुनासो गरिन् । उनका अनुसार सरकारले विकल्पको व्यवस्था नगरी आफूहरूलाई सडकमा ल्याइपुर्‍याएको छ ।

पुरीले विगतमा ठूलो मेहनत गरेर बसोवासको व्यवस्था मिलाएको उल्लेख गर्दै बस्ती हटाउनुअघि उचित व्यवस्थापन वा वैकल्पिक बसोवासको व्यवस्था गर्नुपर्ने माग गरिन् । उनले महानगर प्रमुख बालेन्द्र साहको कार्यशैलीप्रति पनि असन्तोष व्यक्त गरिन् ।

“हामीलाई कुनै जानकारी नै दिइएन । जानकारी दिएको भए कम्तीमा सामान सुरक्षित ठाउँमा सार्न सकिन्थ्यो । अहिले धेरै सामानमा क्षति पुगेको छ,” उनले भनिन्, “सरकारले कुनै बन्दोबस्त गरेको छैन, खाली हटाउने काम मात्रै भइरहेको छ । अब यत्रो परिवार लिएर कहाँ जाने भन्ने चिन्ता छ ।”

उनका अनुसार बिना पूर्वसूचना डोजर चलाउँदा स्थानीयको धनमालमा समेत क्षति पुगेको छ । “बस्ती हटाउनै थियो भने दोस्रो जग्गा वा बस्ने ठाउँको विकल्प दिनुपर्थ्यो,” उनले भनिन् ।

सरकारले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई तीव्रता दिएको भए पनि वैकल्पिक व्यवस्थाविना गरिएको विस्थापनले सुकुम्बासी परिवारमा अन्योल र त्रास बढाएको स्थानीयको गुनासो छ ।

— न्युज एजेन्सी नेपाल