काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय कार्यकारिणी समिति सदस्यका उम्मेदवार धर्मराज सापकोटाले नयाँ नेतृत्वले आफ्ना व्यक्तिगत व्यापार व्यवसायका त्रुटीहरू आउलान र समस्यामा परिएला भन्ने भावनाबाट अलग हुनुपर्नेमा जोड दिएका छन् ।
चुनावी दौडमा रहेका सापकोटाले अब नेतृत्वलाई विगतको जस्तो छुट नभएको उल्लेख गरेका छन् ।
उनले टक्सार न्युजसँगको कुराकानीमा भने,“व्यवसायिक स्वार्थ हेर्ने हो भने आफ्नो व्यापार व्यवसायमात्रै गर्ने हो, नेतृत्व गर्नेतिर लाग्नुहुँदैन । कुनै पनि सङ्घसङ्गठनमा आबद्ध भएको नेतृत्वले सदस्यहरूको हकहितका लागि लड्छु भनेर अगाडि बढिसकेपछि हिचकिचाहट राख्न हुँदैन ।”
नयाँ नेतृत्वले महासङ्घमा आबद्ध भएका सदस्यहरूको समग्र हितमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
उनले भने,“सदस्यहरूलाई विद्यमान नियमकानुन भित्र रहेर आफ्नो व्यापार व्यवसाय गर्दै गर्दा अप्ठ्यारोहरू भएका छन् भने नेतृत्वले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्नुपर्छ । महासङ्घमा गएर नेतृत्वदायी भूमिका खेलिरहँदा व्यक्तिगत व्यावसायिक स्वार्थसँग बाझिनु नितान्त गलत कुरा हो ।”
महासङ्घमा निजी क्षेत्रका सम्पूर्ण क्षेत्रहरूलाई समेट्नका लागि महासङ्घभित्र विभिन्न समिति तथा उपसमिति र फोरमहरूको व्यवस्था गरेको उल्लेख गर्दै उनले उद्देश्यअनुसार सम्बन्धित क्षेत्रको विज्ञ अथवा अनुभवी व्यापारी व्यवसायीहरू उद्योगीहरू समेट्नुपर्नेमा जोड दिए ।
उनले भने,“अहिलेसम्मको अनुभव हेर्दा महासङ्घको चुनावका बेला विभिन्न एजेन्डाहरू पनि पुरा गर्छु भन्ने तर चुनावपछि समिति उपसमितिहरूमा अनुभवी उद्योगी व्यवसायी तथा विज्ञहरूहरूलाई समेट्नुभन्दा असम्बन्धित क्षेत्रका विज्ञहरूलाई, आफू निकटका मान्छेहरूलाई राखेको देखिन्छ । आपसी सहकार्य पनि कमजोर देखिन्छ । अब यो छुट छैन ।”
महासङ्घमा रहेका समिति, उपसमिति फोरमहरू जसरी क्रियाशील हुनुपथ्र्यो, त्यो नदेखिएको भन्दै बैठकसमेत नियमित नबसेको तितो अनुभव रहेको उनले उल्लेख गरे ।
सापकाेटाले भने, “महासङ्घले सम्पूर्ण निजी क्षेत्रको समस्या,समस्याका वैकल्पिक उपाय र भविष्यका चाहिँ अवसरहरू सङ्कलनका लागि स्थापित गरिएका समितिहरू नै चलायमान नभएपछि स्वाभाविकरूपमा महासङ्घको भूमिका प्रभावकारी हुँदैन । जुन तरिकाले निजीक्षेत्रका सम्पूर्ण समस्याहरू उठान गर्नुपथ्र्यो,त्यो उठान गर्न नसकेको देखिन्छ।”
यिनै कारणले विगतमा महासङ्घको जुन गरिमा थियो त्यो निरन्तर अगाडि बढ्नुको सट्टा घट्दै गइरहेको उनको अनुभव छ । विगतमा नेतृत्वले भन्दा एउटा तर गर्दा अर्को भएको उल्लेख गर्दै सापकोटाले भने,“अब जुन उद्देश्यले समिति,उपसमिति फोरमहरू स्थापित भएका छन् सोहीअनुसार गठन हुनुको विकल्प छैन ।”
भावी अध्यक्ष अञ्जन श्रेष्ठले सबै समिति,उसमिति, फोरमहरूलाई टिओआर दिएर काम लगाउँछु भनेको स्मरण गराउँदै सापकोटाले भने,“ साच्चै यस्तो भयो भने सम्बन्धित समिति तथा फोरमहरू बाध्य भएर काम गर्नुपर्ने हुन्छ र यदि कहि कतै काम भएन भने पुनर्गठन हुनसक्छ । अब सदस्य अथवा संयोजक भएर अथवा सभापति भएर कुनै समिति वा फोरम अगोटेर बस्ने अवस्था भविष्यमा हुने छैन ।”



प्रतिक्रिया दिनुहोस्