काठमाडौँ । सरकारले भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा ८ महिनाको माग धान्ने मौज्दात रहेको जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति जारी गर्दै हाल नेपालमा सञ्चालित चिनी उद्योगहरूको उत्पादन, मौज्दात तथा आयात गरिएको परिमाणसमेतलाई आधार मान्दा झण्डै ८ महिनासम्मको माग धान्न सकिने अवस्था रहेको जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“नेपालमा सञ्चालमा रहेका चिनी उद्योगरूबाट उत्पादन भई मौज्दातमा रहेको परिणाम, हालसम्म आयात भई खाद्या व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड लगायतसँग करिब ८ महिनाको माग पुरा गर्ने चिनीको मौज्दात रहेको छ ।
भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यसको प्रभाव व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक तयारी अगाडि बढाएको समेत जनाएको छ ।
मन्त्रालयले बजारमा कृत्रिम अभाव, कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ । त्यस्ता गतिविधि नियन्त्रण गर्न प्रचलित कानुनको कडाइका साथ कार्यान्वयन गरिने विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयको ध्याकर्षण
भारतले चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी निर्यातमा प्रतिबन्ध लगाएको विषयप्रति ध्यानकर्षण भएको समेत मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सुवेदीले जारी गरेको विज्ञप्तिमा चिनीको आपूर्ति, बजार मूल्य स्थिरता र उपभोक्ता हितलाई प्राथमिकतामा राखी विभिन्न कदम चालिएको छ ।
मन्त्रालयले नेपाल चिनी उत्पादक सङघका प्रतिनिधि तथा सम्बन्धित निकायहरूलाई बोलाएर छलफल समेत गरेको छ । छलफलमा उद्योगीहरूले बजारमा सहज र सुलभ मूल्यमा चिनी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भर बन्न सरकारले आन्तरिक उत्पादन वृद्धि गर्ने रणनीति अघि बढाएको जनाएको छ ।
मन्त्रालयले उन्नत उखु जातको प्रयोग तथा आधुनिक प्रविधि अपनाउन किसानलाई सहयोग गरिने, उत्पादन प्रवद्र्धन र बजार व्यवस्थापनलाई प्रभावकारी बनाइने, उद्योगीहरूलाई उत्पादकत्व वृद्धि तथा स्वच्छ बजार कायम गर्न सहकार्य गरिने योजनासमेत रहेको उल्लेख गरेको छ ।
मन्त्रालयले आम उपभोक्तालाई अनावश्यक रूपमा चिनी सञ्चिति नगर्न र बजार आपूर्तिको विषयमा कुनै भ्रममा नपर्न आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्