‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउँछौँः अर्थमन्त्री वाग्ले


काठमाडौँ । डा स्वर्णिम वाग्लेले वर्तमान सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताएका छन् ।

काठमाडौंमा सोमवार आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै उनले नेपाली जनताले दिएको जनादेशअनुसार सरकारले सुशासन प्रवर्द्धन र आर्थिक सुधारलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गरे ।

विगत १० देखि १५ वर्षको कुशासनका कारण देशले ठूलो मूल्य चुकाउनुपरेको भन्दै अब त्यसबाट मुलुकलाई बाहिर निकाल्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले आगामी बजेट सुधारमुखी हुने संकेत गर्दै सुशासनको लाभांश समाजसम्म पुर्‍याउने उद्देश्य लिइएको बताए। उनका अनुसार संस्थागत तथा कानुनी सुधार, दर्जनौँ ऐन संशोधन र सूचना प्रविधिको व्यापक प्रयोगमार्फत ई–गभर्नेन्स र डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखिनेछ।

उनले नेपालको अर्थतन्त्र रेमिट्यान्समा अत्यधिक निर्भर रहेको उल्लेख गर्दै अब स्वच्छ ऊर्जा, डिजिटाइजेसन, पर्यटन, हरित उत्पादन र उच्च मूल्यको कृषि क्षेत्रलाई आर्थिक वृद्धिको आधार बनाइने बताए ।

पूर्वाधार विकासमा एकीकृत दृष्टिकोण अपनाइने बताउँदै अर्थमन्त्री वाग्लेले सडक, ऊर्जा, स्वच्छ ऊर्जा ग्रिड, भरपर्दो इन्टरनेट सेवा र उड्डयन सुरक्षामा विशेष जोड दिइने जानकारी दिनुभयो। साथै, निजी क्षेत्रको लगानी बिना ठूलो पूर्वाधार विकास सम्भव नहुने उनको भनाइ थियो।

सामाजिक क्षेत्रमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण र वित्तीय पहुँच विस्तारलाई प्राथमिकता दिइएको बताउँदै उनले गैरआवासीय नेपालीहरूको सञ्जाललाई लगानी, शिक्षा र सांस्कृतिक सहकार्यको माध्यमका रूपमा उपयोग गरिने पनि उल्लेख गरे ।