काठमाडाैँ । अध्यागमन विभागले ‘डिजिटल टाइम कार्ड’ कार्यान्वयनमा ल्याएको छ । सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्र्याकिङ योग्य तथा पारदर्शी बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको ‘डिजिटल टाइम कार्ड’सेवाको बिहीबार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो ।
सरकारले गत १३ चैतमा सार्वजनिक गरेको १०० बुँदे शासकीय सुधार सम्बन्धी घोषणाअनुसार सञ्चालनमा ल्याइएको विभागले जनाएको छ । शुभारम्भ कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सेवाग्राहीको आवेदनको रियल टाइममा जाँच कार्य सम्पन्न हुने लाग्ने अनुमानित समय लगायतारे जानकारी दिन रियल टाइम कार्ड लागू गरिएको बताए ।
अब कुनैपनि नागरिकले आफूले लिन चाहेको सेवाबारे जानकारी लिन कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य हुने समेत उनले दाबी गरे । उनका अनुसार टाइम कार्ड लागू भएसँगै विभागमा कार्यरत कर्मचारीको जिम्मेवारी र जवाफदेहिता थप सुदृढ हुनेछ ।
उनले भने, “सेवाग्राहीले विभागबाट एप्लाई गरेको जुनसुकै सेवाको स्टाटस के छ ? त्यो काम सकिन अब कति समय लाग्छ ? भन्नेबारे जानकारी दिने भएकोले यो प्रणाली लागू भएसँगै सेवाग्राहीको समयको समेत बचत हुनेछ । अनि विभागमा कार्यरत कुन कर्मचारीले कति काम गर्यो ? कति जनालाई सेवा दियो भन्ने कोणबाट समेत प्रशासनिक रुपमा निगरानी गर्न सकिन्छ ।”
विभागका प्रत्येक शाखाका प्रतिक्षालयमा राखिएको क्यूआर स्क्यान गरेर आफ्नो आवेदन ट्रयाक गर्न सकिने समेत उनले बताए ।



प्रतिक्रिया दिनुहोस्