महत्वपूर्ण कागजात नष्ट भएका कारण आवश्यक प्रमाण जुटाउन कठिनः राउत


काठमाडाैँ । उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले महत्वपूर्ण कागजात नष्ट भएका कारण आवश्यक प्रमाण जुटाउन कठिन भइरहेको बताएका छन् । 

सार्वजनिक लेखा समिति बैठकमा उनले विगतका केही महत्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फर्स्याैटकाे काममा आवश्यक प्रमाण जुटाउन कठिन भइरहेको जानकारी दिए । उनकाअनुसार कतिपय फाइल महालेखा परीक्षकको कार्यालयमा पठाइए पनि विभिन्न कारणले प्रक्रिया रोकिएको अवस्था छ ।

यसले बेरुजु फर्स्याैटकाे काम प्रभावित भएको छ । सचिव राउतले विगत करिब दुई वर्षसम्म कायम रहेको कानुनी अस्पष्टताका कारण पनि बेरुजु रकम बढेको बताए । कानुनी अन्योलका कारण समयमा फस्र्यौट हुन नसक्दा बेरुजुको दायरा विस्तार भएको उनको भनाइ थियो ।

सचिव राउतले भने, “केही यो कागजातहरू नष्ट भएको कारणले पनि पछिल्लो समयमा आवश्यक कागज–प्रमाणहरू पूरा गर्न नसकेर रहेको छ, अलिकति अहिलेको समस्या भनेको त्यही हो भने । त्यसपछि कतिपय फाइल चाहिँ महालेखा परीक्षकको कार्यालयमा पठाइए पनि त्यो विविध कारणले अहिले रोकिएको अवस्था  छ र यो बेरुजुको रकम अलिकति बढ्नुमा विगतमा हाम्रो लगभग दुई वर्षजति कानुनी अस्पष्टताको कारणले पनि यो फस्र्योट हुन नसकेको कारणले बढेको हो र अब अहिले हामी मन्त्रालयले कानुनमा तोकिए बमोजिमको ‘बेरुजु फस्र्योट समिति’ नै गठन गरेर नियमित रूपमा मन्त्रालय र अन्तर्गतका निकाय प्रमुख र लेखा प्रमुखहरूको छलफल गरेर त्यो अनुसार बेरुजु फस्र्यौटलाई तदारुकताका साथ अगाडि बढाइरहेका छौँ ।”

उनले हाल मन्त्रालयले कानुनबमोजिम ‘बेरुजु फस्र्यौट समिति’ गठन गरी नियमित रूपमा काम गरिरहेको जानकारी दिए । मन्त्रालय तथा मातहत निकायका प्रमुख र लेखा प्रमुखहरूसँग निरन्तर छलफल गरेर कार्ययोजनाअनुसार बेरुजु फर्स्याैट प्रक्रिया अघि बढाइएको सचिव राउतले बताए । उनकाअनुसार मन्त्रालयले बेरुजु व्यवस्थापनलाई प्राथमिकतामा राखेर तदारुकताका साथ काम गरिरहेको छ ।