साताको पहिलो कारोबारकै दिन ११४ अंकले घट्यो नेप्से, व्याजदर वृद्धिको प्रभाव


काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से परिसूचक भारी अंकले घटेको छ । सोमबार आज नेप्से परिसूचक ११४ अंकले घटेको हो । आज विभिन्न ७ वटा कम्पनीको सेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ ।

राष्टबैंकले जारी गरेको कर्जा सिमाका कारण घटिरहेको बजारमा फेरी बैंकहरुले निक्षेपको व्याजदर बढाएपछि त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ । विभिन्न बैंकहरुले ७.५ प्रतिशत देखि सबैभन्दा धेरै १०.७ प्रतिशतसम्म निक्षेपमा व्याज दिने भएपछि बजारमा नकरात्मक असर परेको लगानीकर्ताहरु बताउँछन् ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमूहमध्ये सबै उपसमूह राताम्ये बनेका छन् ।आज कारोबार रकमका आधारमा अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले नै अग्रता कायम गरेको छ । कम्पनीको ४० करोड ६५ लाख ३१ हजार ४ सय ३६ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज जम्मा ८ वटा कम्पनीको सेयरमूल्य बढेको छ । जसमध्ये ३ वटा डिबेञ्चर, एउटा म्युचुअल फण्ड र अन्य ४ वटा भने कम्पनी रहेका छन् । मनकामना लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको सेयरमूल्य बढेर ९ सय ८९ रूपैयाँ ८० पैसा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ११४.०२ अंकले घटेर २६९८.२४ अंकमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १९.५१ अंकले घटेर ५०६.२७ अंकमा झरेको छ ।

कूल २२९ वटा कम्पनीको एक करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।