शान्त ‘सानिमा ग्रुप’को सत्ताभित्र बढ्दो सक्रियता


काठमाडौँ । धितापत्र बोर्डको नयाँ अध्यक्ष नियुक्ति प्रक्रियामा सानिमा ग्रुप ‘सक्रिय हुन खोजेकाे’ आरोप लागेको छ ।

जेनजी विद्रोहपछि नयाँ जनादेश लिएर आएको राष्ट्रिय स्वतन्त्र पार्टी र वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारमा सानिमा समूहको सक्रियता अहिले चर्चाको विषय बनेको छ ।

हरेक राजनीतिक परिवर्तनपछि कुनै नयाँ व्यवसायिक घरानाको जन्म हुन्छ वा पुरानामध्येबाट कसैले सरकार र राज्यसत्तामा आफ्नो दबदबा कायम राख्ने विगतको अनुभव छ ।

जेनजी विद्रोहपछि चुनाव भएर सरकार बनेको दुई महिनामै धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा यो समूह ‘जर्बजस्त सक्रिय’ बनेको टिप्पणी गर्न थालिएको छ ।

सानिमा बैंकका पूर्वसिइओ भुवन दाहाल धितोपत्र बोर्डको अध्यक्ष छनौट समिति सदस्यमा पर्नु र सानिमा ग्रुपको चासोमा रहेका राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्रीलाई बोर्डको नेतृत्वमा ल्याउन खोजेपछि यसअघि ‘लो प्रोफाइल’मा बसेर काम गरिरहेको यो समूह मुलुकको राज्य संरचनामा प्रभाव पार्न सक्रिय बन्न खोजेको देखिएको छ ।

सानिमा ग्रुप कस्तो हो ?

सानिमा गैरआवासीय नेपालीहरूले प्रवर्धन गरेको व्यवसायिक समूह हो ।

हाइड्रो, इन्जिनियरिङ बैंक, बिमा, स्वास्थ्य र हस्पिटालिटी क्षेत्रमा यो समूहको लगानी छ ।

सानिमाको मुख्य नेतृत्व अरुणकुमार ओझा, टेकनाथ निरौला, विनयकुमार श्रेष्ठ, घनश्याम थापा, जिबा लामिछाने हुन् भने उपेन्द्र महतो, निरञ्जन गोविन्द श्रैष्ठ,खेमराज लामिछाने जस्तो चर्चित व्यवसायिक व्यक्ति यो समूहमा जोडिएका छन् ।

सानिमा समूहमा अरुणकुमार ओझा र टेकनाथ निरौला आन्तरिक रूपमा बढी शक्तिशाली मानिन्छन् भने जिवा लामिछाने, बिनयकुमार श्रेष्ठ, घनश्याम थापा र खेमराज लामिछाने पनि उत्तिकै प्रभावशाली छन् ।

उपेन्द्र महतो सानिमा बैंकबाट पूर्णरूपमा बाहिरिए पनि सानिमा हाइड्रो र इन्जिनिरिङ् कम्पनीमा छन् । उपेन्द्र महतो र जिबाको गैरअवासीय नेटवर्क,देशभित्रको व्यवसायिक छवि राम्रो छ र आन्तरिक राजनीतिमा पनि उच्च पहुँच राख्न सक्छन् ।

अन्य व्यक्ति भने व्यवसायलाई बलियो बनाउन क्रियाशील छ तर सार्वजनिक रूपमा खासै चर्चामा आउँदैनन् । वालेन नेतृत्वको सरकार बन्ने वित्तिकै यो समूह धितोपत्र बोर्डमा जोडिएर चर्चामा आएको छ । सबै गरेर बजार मूल्यअनुसार यो समूहको १ खर्ब देखि १ खर्ब५० अर्ब रुपैयाँसम्मको लगानी भएको अनुमान छ ।

धितोपत्र बोर्डमै किन सक्रिय भयो

यो समूहको बैंक तथा वित्तीय क्षेत्रमा पनि राम्रो उपस्थिति छ । सानिमा अन्तर्गतका लगानीकर्ताले पनि नयाँ स्टक एक्सचेञ्जका लागि निवेदन दिएका दिए ।

बोर्डमा निवेदन दिएका मध्ये ‘नेसनल स्टक एक्सचेञ्ज’ सानिमा समूहसँग जोडिएका गैरआवासीय नेपाली तथा नेपालका केही व्यवसायिक घरानाको समेत लगानी छ ।

तत्कालीन समेतमा दीपक तिमल्सिनाको नेतृत्वमा दर्ता भएको नेसनल स्टक एक्सचेञ्जमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो,पूर्व अध्यक्ष जिवा लामिछाने, कुल आचार्य, बद्री केसी, केडिया समूह, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ लगायतसँग संलग्न छन् ।

सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको पनि प्रस्तावित नेसनल स्टक एक्सचेञ्जका हिस्सेदार हुन् । यी समूह प्रत्यक्ष अप्रत्यक्ष व्यवसायिक सम्बन्ध छ । नयाँ स्टकका लागि तीनओटा व्यवसायिक समूह बनेर निवेदन परेको छ । यसमा एउटा समूह सानिमा ग्रुप र यसका साझेदारको लगानी छ । वर्तमान गर्भनरसमेत कुनै समय सानिमा विकास बैंकको बोर्ड सदस्य थिए ।

बोर्डबाट सुरुवात

लो प्रोफाइलमा रहेर काम गरिरहेको सानिमा समूह यसपटक प्रत्यक्षरूपमा नीतिगत हस्तक्षेप गर्ने लक्ष्यसहित अगाडि आउन खोजेको देखिन्छ ।

यसका लागि पहिलो छनौट धितोपत्र बोर्ड भएको छ । बोर्डको अध्यक्ष सिफारिसमा सानिमा समूह अन्तर्गतकै सानिमा विकास बैंकका पूर्वसिइओ छनोट समिति सदस्य बनाइए ।

यसपछि यो विषय थप बलियो बन्यो जब सानिमा समूहसँग नजिक रहेको आरोप लागेको क्षेत्रीलाई बोर्डको अध्यक्ष बनाउन खोजेको देखियो ।

बोर्डको अध्यक्षका लागि निवेदन दिएका राष्ट्र बैंकका पूर्व डेपुटी गर्भनरहरूसमेत संक्षिप्त सूचीमा नपर्दा क्षेत्री अटाएका छन् । बोर्ड अध्यक्ष छनौटबारे अलोचना सुरु भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि चासो देखाएको छ ।

बाहिर आलोचना भएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्ष चयन गर्न सकेन । स्टक एक्जसेञ्जसँग जोडिएका सबै व्यवसायिक घराना कतै न कतै विवादमा आएका कारण नयाँ सरकार बनेको मौकामा लो प्रोफाइलमा बसिरहेको व्यवसायिक समूहलाई अगाडि सारिएको जानकारहरूको दाबी छ ।

सन् १९९३ मा रूसमा स्थापना भएर नेपालमा फैलिएर ठुलो लगानी गरेको यो समूहको पछिल्लो चासो र सक्रियताबारे भने आन्तरिक र बाहिरी रूपमा निकट व्यवसायी तथा लगानीकर्ता तत्काल कोही टिप्पणी गर्न चाहँदैन ।

सानिमा ग्रुप निकट रहेका केही व्यवसायीहरूले अहिले नै टिप्पणी गर्ने बेला नभएको बताए । सानिमाकै पूर्व सिइओ तथा बोर्ड अध्यक्ष दाहाल सञ्चालक रहेको एउटा संस्थालाई सानिमा बैंकबाट एक करोड बराबरको सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग गएको देखिन्छ ।

एक व्यवसायीले भने,“ अहिले नै टिप्पणी गर्न हतार हुन्छ । यो समूह सक्रियो बन्यो भन्ने बेला त भएको छैन तर कही प्रश्नहरू सार्वजनिक रूपमा उठ्न थालेको छ ।”