प्रधानमन्त्रीको अभिव्यक्ति चियापसलमा गफ गरे जस्तो हुनुहुँदैन : शाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै शाहीले प्रधानमन्त्री साहले नेपालले भारतको सीमा मिचेको भन्ने दाबी गरेको विषयप्रति आपत्ति जनाउँदै त्यसको आधार संसदमा पेश गर्न माग गरे ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सामान्य राजनीतिक टिप्पणी नभई देशको आधिकारिक धारणा मानिने भएकाले तथ्यहीन दाबी स्वीकार्य नहुने बताए । “तथ्य र प्रमाण बिना राष्ट्र चल्दैन, अनुमानका आधारमा राज्य सञ्चालन हुन सक्दैन,” उनले भने ।

शाहीले प्रधानमन्त्रीको भनाइले अन्तर्राष्ट्रिय स्तरमा नेपालको धारणा प्रभावित हुने भएकाले जिम्मेवार अभिव्यक्ति आवश्यक रहेको उल्लेख गरे । उनले सीमा मिचिएको दाबीको प्रमाण भए संसदमा प्रस्तुत गर्न वा नभए त्यस्तो अभिव्यक्ति हटाउन सभामुखसँग माग समेत गरे ।

उनले तथ्यविहीन अभिव्यक्ति राजनीतिक भाषण हुन सक्ने तर राज्य सञ्चालनको आधार बन्न नसक्ने टिप्पणी गरेका छन् ।