काठमाडौँ । महोत्तरीको बर्दिबास नगरपालिकाले अत्यधिक गर्मी र लुको असरबाट विद्यार्थीलाई जोगाउन नगरभित्र सञ्चालित सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
पछिल्ला दिनहरूमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बेहोस हुने घटना बढ्न थालेपछि स्थानीय सरकारले यस्तो निर्णय लिएको हो।
चर्किंदो तापक्रमले विद्यालयको पठनपाठन वातावरण प्रतिकूल बन्दै गएपछि बन्द गर्नु परेको नगरपालिकाले जनाएको छ ।
विद्यार्थीको स्वास्थ्यमा नकारात्मक असर देखिएपछि नगर कार्यपालिकाको बैठकले सामुदायिक, निजी तथा धार्मिक विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको हो।
बर्दिबास क्षेत्रमा केही दिनयता गर्मीको मात्रा असामान्य रूपमा बढेको छ। तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको र तातो हावा चलिरहेकाले विद्यालयमा अध्ययनरत बालबालिकाहरू बढी प्रभावित भएका छन्।
विशेषगरी जस्तापाताले छाइएका विद्यालय भवनहरूमा गर्मी अत्यधिक हुने गरेको शिक्षकहरूले बताएका छन्। कक्षाकोठाभित्रको तापक्रम उच्च हुँदा विद्यार्थीहरूलाई टाउको दुख्ने, शरीर कमजोर हुने, रिङ्गटा लाग्ने तथा बेहोस हुने समस्या देखिन थालेको छ।
बर्दिबास–९ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा मंगलबार एकै दिन २० जना विद्यार्थी बेहोस भएपछि विद्यालय प्रशासन चिन्तित बनेको थियो।



प्रतिक्रिया दिनुहोस्