अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले छानविनका लागि तत्काल संसदीय समिति गठन गर्नुपर्छः ज्ञानबहादुर शाही



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले करको दर फेरफेर गरिएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानविन गर्न तत्काल संसदीय समिति गठन गर्न माग गरेको छ ।

संघीय संसद भवन परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले अर्थमन्त्री वाग्लेले मन्त्रालयमा बसेर करका दर हेरफेर सम्बन्धि १७ पेज गराएको जिकिर गर्दै उनीमाथि छानविन गर्न संसदीय समिति नै गठन गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने,“अर्थ मन्त्रालयले एउटा ठुलो त्रुटी गरेको छ । किनभने करका दर हेरफेर गर्ने कुरा संसदको सम्पत्ति भईसकेको कुरा पनि अर्थमन्त्रीज्यूले आफनो मन्त्रालयमा बसेर १७ वटा पृष्ठहरु गायब गर्नु भएको छ । कसको स्वार्थमा गायव गर्नु भयो ?”

अर्थमन्त्री वाग्लेले करका दर चुहावट गराएर भन्सारमा नै नल्याइएको करिव १२ सय वटा गाडीहरू भन्सार चेकजाँज पास भएको उल्लेख गर्दै आपत्ति समेत जनाए ।

नेता शाहीले अर्थमन्त्री वाग्लेमाथि त्यस्तो अपराध गरेमा राजद्रोहको मुद्दासमेत लाग्न सक्ने कानूनी व्यवस्था रहेको टिप्पणी गरे ।

शाहीले भने,“ अहिले बिवाइडी काण्ड आएको छ । यो सामान्य विषयबस्तु होइन । यो भन्दा अघिल्लो वर्षमा बिवाइडी गाडीहरू नेपाल भित्रयाउँदाखेरी किलोवाटका दरले भन्सार कर लिएर भित्रयाउने गरिन्थ्यो । तर अहिले के भएको छ ? मूल्यका आधारमा अव भन्सार कर लाग्ने नीति बन्दैछ भन्ने कुरा १४ गतेको सूचना लिक भएको छ ।”

नेता शाहीले अर्थमन्त्री वाग्ले करको दररेट चुहावट हुने कुरा गम्भिर भएकाले यसमा छानविन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताए ।