बजेट महत्वाकांक्षी भएपनि कार्यान्वयन सम्भव छ : डा. प्रकाशशरण महत


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट महत्वाकांक्षी भए पनि कार्यान्वयन सम्भव रहेको बताएका छन्।

नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्रिय योजना आयोगको प्रस्तावभन्दा करिब डेढ खर्ब रुपैयाँ ठूलो बजेट ल्याइएको उल्लेख गर्दै स्रोत व्यवस्थापनमा स्पष्टता आवश्यक रहेको बताए।

महतले बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेकाले तत्काल आन्तरिक ऋण व्यवस्थापनमा समस्या नदेखिए पनि साधारण र पुँजीगत खर्चका लागि बढ्दो ऋण निर्भरता दीर्घकालीन चुनौती बन्न सक्ने बताए।

उनले निजी क्षेत्रको सक्रिय परिचालन, लगानी विस्तार र प्रभावकारी पुँजीगत खर्चमार्फत सरकारले राखेको सात प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न सकिने धारणा राखे। हाल मुद्रास्फीति नियन्त्रणको दायराभित्र रहेकाले मूल्यवृद्धिको लक्ष्य पनि प्राप्त हुन सक्ने उनको भनाइ थियो।

महतले बजेटले ठूलो नीतिगत परिवर्तनभन्दा आर्थिक नीतिको निरन्तरता, लगानी प्रवर्द्धन, उत्पादन वृद्धि र रोजगारी विस्तारमा जोड दिएको उल्लेख गरे।