विद्युतीय सवारीसाधन सञ्चालनको मापदण्ड, कार्यविधि र व्यवस्थापनसम्बन्धी नीति खोई ?- अध्यक्ष सिटौला


काठमाडाैँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले विद्युतीय सवारी साधनको मापदण्ड, कार्यविधि र व्यवस्थापन सम्बन्धी नीति बनाउन नसकेको आरोप लगाएका छन् । 

प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा उनले विद्युतीय सवारीको संख्या तिब्र रूपमा बढेपनि त्यसको व्यवस्थापनको नीति बनाउन सरकार असफल भएको बताएका हुन् ।

अध्यक्ष सिटौलाले नेपालमा करिव ७३ प्रतिशत विद्युतीय सवारी संचालनमा रहेको बताए । तर त्यसको सञ्चालन, मापदण्ड र व्यवस्थापनका लागि सरकारले के बनायो ? उनको प्रश्न छ ।

उनले सार्वजनिक यातायात व्यवस्थापनका लागि आवश्यक तथ्यांकसमेत सरकारसँग नभएको दाबी गरे। रुट परमिट र सवारी दर्ता सरकारकै जिम्मेवारी भएपनि यातायात क्षेत्रको एकीकृत डाटा सरकारसंग नभएको उनको भनाइ छ ।

उनले महासंघले जीपीएस प्रणाली, क्यासलेस भुक्तानी र अनलाइन टिकटिङ लागू गर्न माग गर्दै आएपनि सरकारले त्यसका लागि पनि आवश्यक कार्यविधि बनाउन नसकेको बताए । अध्यक्ष सिटौलाले सडकको क्षमताअनुसार सवारी सञ्चालन गर्नुपर्ने उल्लेख गरे ।

अहिले जथाभावी सवारी सञ्चालन भएकोले शहर अव्यवस्थित बनेको उनको भनाइ छ । विकसित मुलुकमा सार्वजनिक यातायातका लागि छुट्टै लेनको व्यवस्था हुने गरेको उल्लेख गर्दै उनले नेपालमा त्यस्तो पूर्वाधार नहुँदा यातायात प्रणाली प्रभावकारी बन्न नसकेको बताए ।

उनले चालक अभावका कारण लामो दुरीका सवारीमा डबल चालकको व्यवस्था गर्न सक्ने अवस्था नरहेको बताए । उनले पार्किङ व्यवस्थापनलाई राज्यले गम्भिरतापुर्वक लिनुपर्नेमा जोड दिए । मालवाहक सवारीका लागि आवश्यक पार्किङ स्थलको अभाव रहेको उनको भनाइ छ ।

उनले भारतीय सवारीलाई नेपाल प्रवेशमा कडाई गर्नुपर्ने बताए । भारतसँगको खुला सीमाका कारण भारतीय नम्बर प्लेटका सवारी नेपालमा सहज रूपमा सञ्चालन भइरहेका उनको भनाइ छ । तर नेपाली सवारी भारत प्रवेश गर्दा भारतीय दुतावासबाट स्वीकृत लिनुपर्ने जटिल प्रक्रिया र आर्थिक धरौटीको व्यवस्था रहेको उनले बताए ।

उनले लगानीमैत्री, यात्रुमैत्री र व्यवस्थित यातायात नीति ल्याउन सरकारसंग आग्रह गरे । उनले चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा पनि सुधार आवश्यक रहेको बताए । सानो सवारी साधन चलाउन सक्ने व्यक्तिलाई ठूलो सवारी चलाउनका लागि अनावश्यक रूपमा वर्षौं कुर्नुपर्ने व्यवस्थाले समस्या सिर्जना गरेको उनको भनाइ छ ।

उनले काठमाडौं उपत्यकामा साना–ठूला सबै प्रकारका सवारी एउटै रुटमा सञ्चालन भइरहेको उल्लेख गर्दै बढी यात्रु क्षमता भएका बस सञ्चालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । रत्नपार्कबाट बुढानीलकण्ठ, जोरपाटी, लगनखेल, थानकोट वा भक्तपुर जाने रुटमा १०० जना अट्ने बस चलाउन सकिने उनको भनाइ छ । तर त्यसको सट्टा साना सवारीको संख्या बढाइएको उनले बताए।