लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ


काठमाडौँ । सरकारले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ ।

लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रवार गृह मन्त्रालयका आयोजित एक कार्यक्रममा बोल्दै गृहसचिव राजकुमार श्रेष्ठले उक्त कुरा बताएका छन्।

उनले लागुऔषध नियन्त्रण र रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहको कामलाई नीतिगत रुपमा नै जागरुक गराउन उक्त विभाग स्थापना गर्ने तयारीमा सरकार अघि बढ्नुपरेको पनि स्पष्ट पारे ।

गृहसचिव श्रेष्ठले लागुऔषध दुव्र्यसनीको सुधार तथा उपचारका लागि पुनःस्थापना केन्द्र सञ्चालन गर्दा न्युनतम मापदण्ड पूरा गर्न पनि सम्बन्धित पक्षलाई निर्देशन दिए । उनले लागुऔषध नियन्त्रण तथा रोकथामको क्षेत्रमा आवद्ध सबै संस्थाहरुलाई सरकारसँग आवद्ध हुन पनि सचेत गराए ।

गृह सचिव श्रेष्ठले भने,‘अहिले भएको संगठन संरचना ओएनएम सर्भेमा विभागको स्थापना गर्ने कि भन्ने हिसावले पहल गरेका छौँ । लागुऔषधि नियन्त्रण तथा रोकथाम सम्बन्धि विभागको संरचनाको सोचाई छ । तर त्यो पास भईसकेको अवस्था छैन । तर त्यो स्थापना भईसकेपछि यसको रोकथाम, नियमन्त्रण र उपचारात्मक कार्यका लागि संघदेखि प्रदेश र स्थानीय तहसम्मका लागि नीतिगत रुपमा नै यो तर्फ पनि हामीले काम गर्नु पर्दछ भन्ने हिसावले जागरुक गराउने कुरामा अझै बढि प्रभावकारी हुन्छ कि भन्ने हिसावमा यो सोचेका छौ । तर त्यो टुंगिसकेको अवस्था छैन । तर हाम्रो सोचाई त्यो छ भन्नेकुरा मैले राख्न चाहेँ । अघि हाम्रो प्रश्तुतीमा केही संस्थाहरु आवद्ध हुन बाँकि छ, सूचिकृत हुन बाँकि छ भने ती संस्थाहरुलाई आवद्ध गराउनका निम्ति हामी सबैको पहल हुनुप¥यो । सरकारी तवरबाट पनि हुन्छ, यहाँहरुको तवरबाट पनि त्यो पहल होस । र पुनः स्थापना संचालनका जुन न्युनतम मापदण्ड छ । त्यो मापदण्ड पूरा गरेर सञ्चालन गर्नेतर्फ हाम्रो भूमिका रहनु प¥यो ।’

गृहसचिव श्रेष्ठले प्रदेश र स्थानीय तहलाई पनि लागुऔषध नियन्त्रण तथा रोकथामको अभियानमा सक्रियतापूर्वक लाग्न पनि आग्रह गरे ।