काठमाडौँ । बागमती प्रदेशमा आगामी साउनदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन, नवीकरण गर्न र वर्ग थप गर्न सेवाग्राहीले हालको भन्दा दोब्बर शुल्क तिर्नुपर्ने भएको छ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक विधेयकमार्फत लाइसेन्ससम्बन्धी सबै शुल्क वृद्धि गरेको हो। नयाँ शुल्कदर साउन १ गतेदेखि लागू हुनेछ।
नयाँ व्यवस्थाअनुसार लाइसेन्स आवेदन शुल्क ५०० रुपैयाँबाट बढेर १ हजार रुपैयाँ पुगेको छ। मोटरसाइकल तथा स्कुटर ९ए वर्ग० को नयाँ लाइसेन्स र नवीकरण शुल्क १ हजार ५०० रुपैयाँबाट बढेर ३ हजार रुपैयाँ कायम गरिएको छ।
कार, जीप, भ्यान ९बी०, टेम्पो तथा अटोरिक्सा ९सी० र पावर ट्रिलर ९डी० वर्गका सवारीको लाइसेन्स तथा नवीकरण शुल्क २ हजारबाट ४ हजार रुपैयाँ पुगेको छ। त्यस्तै ट्र्याक्टर ९ई० तथा मिनिबस र मिनी ट्रक ९एफ० वर्गका लागि २ हजार ५०० रुपैयाँबाट बढाएर ५ हजार रुपैयाँ तोकिएको छ।
ट्रक, बस, लहरी (जी), रोडरोलर तथा डोजर (एच), क्रेन, दमकल र लोडर (आई) तथा एस्काभेटर, ब्याकहो लोडर र ग्रेडर (जे) वर्गका सवारीको लाइसेन्स तथा नवीकरण शुल्क ३ हजारबाट ६ हजार रुपैयाँ पुर्याइएको छ।
यस्तै, एदेखि एफ वर्गसम्म वर्ग थप गर्दा १ हजार रुपैयाँ र जीदेखि जे वर्गसम्म २ हजार रुपैयाँ शुल्क लाग्नेछ। यसअघि यी शुल्क क्रमशः ५०० र १ हजार रुपैयाँ थिए।
यद्यपि, लाइसेन्सको वैधता अवधि भने पहिलेझैँ १० वर्ष नै कायम राखिएको प्रदेश सरकारले जनाएको छ।
नयाँ शुल्क लागू भएसँगै बागमती प्रदेशमा लाइसेन्स लिने, नवीकरण गर्ने र वर्ग थप गर्ने सेवाग्राहीको खर्च उल्लेख्य रूपमा बढ्ने भएको छ।



प्रतिक्रिया दिनुहोस्