नेपाल–चीन व्यापार फोरममा लगानी, प्रविधि हस्तान्तरण र निर्यात विस्तारमा जोड


काठमाडौं। नेपाल–चीनबीचको व्यापारिक तथा औद्योगिक साझेदारीलाई थप सुदृढ बनाउँदै लगानी, प्रविधि हस्तान्तरण र निर्यात विस्तारमा केन्द्रित हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। चीनले नेपाली वस्तुका लागि उपलब्ध गराएको शून्य भन्सार सुविधाको प्रभावकारी उपयोग गर्दै व्यापार घाटा कम गर्नुपर्ने आवश्यकता पनि औल्याएको छ ।

चीनको बेइजिङमा जुलाई १ र २ मा आयोजित नेपाल–चीन बिजनेस एन्ड इन्भेस्टमेन्ट फोरमलाई सम्बोधन गर्दै निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले चिनियाँ लगानीकर्ता तथा उद्यमीहरूलाई नेपाललाई उत्पादन, नवप्रवर्तन र दिगो विकासका लागि रणनीतिक साझेदारका रूपमा लिन आग्रह गरे।

अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि नेपाली दूतावास, चीन परिषद् फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र चाइना चेम्बर अफ इन्टरनेशनल कमर्सको सहकार्यमा आयोजित कार्यक्रममा अध्यक्ष घिमिरेले नेपालमा प्रविधि, लगानी र औद्योगिक सहकार्य विस्तारका लागि निजी क्षेत्र पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

चीनले नेपाली उत्पादनका लागि उपलब्ध गराएको शून्य भन्सार सुविधाको अपेक्षित लाभ नेपालले अझै लिन नसकेको उल्लेख गर्दैै उनले अब उक्त सुविधालाई वास्तविक आर्थिक उपलब्धिमा रूपान्तरण गर्ने समय आएको भन्दै हस्तनिर्मित कार्पेट, पश्मिना, उच्च गुणस्तरको चिया, कफी, जडीबुटी, मसला तथा डेरीजन्य उत्पादनको चिनियाँ बजारमा ठूलो सम्भावना रहेको बताए।

उनले प्रस्तुत गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा नेपालले चीनबाट करिब ३८२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने चीनतर्फको निर्यात १ अर्ब ५८ करोड रुपैयाँ मा सीमित रहेको छ। यसले नेपाल–चीन व्यापारमा रहेको ठूलो असन्तुलनलाई स्पष्ट पार्ने उनको भनाइ थियो।

कार्यक्रममा चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनालले नेपाल सरकारले विदेशी लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न नीतिगत सुधारलाई तीव्रता दिएको जानकारी दिए। उनले हालका वर्षहरूमा लगानीमैत्री कानुनी तथा नीतिगत सुधारहरू अघि बढाइएको उल्लेख गर्दै नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्दै गएको बताए।

चाइना चेम्बर अफ इन्टरनेशनल कमर्सका द्विपक्षीय सहयोग विभागका महानिर्देशक जु क्वाडले फोरमले दुवै देशका व्यवसायीबीच नयाँ सहकार्यका क्षेत्र पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समितिका सभापति होमप्रसाद घिमिरेले औद्योगिक सहकार्य, प्रविधि हस्तान्तरण तथा दिगो लगानीमार्फत नेपाल–चीन आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने अवसर सिर्जना भएको बताए । उनले नेपाललाई विदेशी लगानीका लागि उदीयमान गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न यस्ता फोरम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

नेपाली दूतावासकी आर्थिक कूटनीति प्रमुख पार्वती अर्यालले सम्मेलनले चिनियाँ लगानीकर्ता तथा उद्यमीहरूलाई नेपालको विशाल लगानी सम्भावनाबारे प्रत्यक्ष जानकारी दिने अवसर प्रदान गरेको बताइन् ।

फोरममा नेपाल र चीनका विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले द्विपक्षीय व्यापार सन्तुलन सुधार, संयुक्त लगानी, उत्पादनमूलक उद्योग, प्रविधि हस्तान्तरण र निर्यात अभिवृद्धिलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका दिए ।