ग्यास वितरणलाई व्यवस्थित बनाउन एकीकृत प्रणाली र समयसीमासहितको कार्ययोजना आवश्यकः सभापति अन्सारी


काठमाडाैँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खाना पकाउने ग्यास (एलपी ग्यास) को वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् ।

बुधबार आयोजित समितिको बैठकमा सभापति अन्सारीले ग्यास आपूर्ति श्रृङ्खलामा देखिएका समस्या समाधानका लागि ठोस कदम चाल्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् ।

सभापति अन्सारीले प्रत्येक घरधुरीमा कुन कम्पनीका कतिवटा सिलिण्डर छन् भन्ने यकिन तथ्याङ्क राख्न ‘हाउसहोल्ड म्यापिङ्ग’ र एकीकृत सूचना प्रणाली (इन्टिग्रेटेड सिस्टम) को आवश्यकता रहेको बताए ।

वडा तहबाटै उपभोक्ताको विवरण सङ्कलन गरी नेपाल आयल निगम, ग्यास उत्पादक र वितरकले हेर्न मिल्ने गरी प्रणाली विकास गरेमा अनुगमन प्रभावकारी हुने र दुरुपयोग रोकिने उनको भनाइ छ ।

उनले आधा सिलिण्डरको प्रयोगबाट प्राप्त भएका उपलब्धि र समस्याहरूको समीक्षा गर्दै आगामी दिनमा परिमार्जित नीति ल्याउनुपर्नेमा जोड दिए ।

साथै, ढुवानीमा सहज हुने र सुरक्षित मानिने ‘लाइट वेट’ (कार्बन फाइबर) सिलिन्डरको प्रयोग व्यापक हुन नसकेकोमा चासो व्यक्त गर्दै त्यसको गुणस्तर र सुरक्षाबारे स्पष्ट पार्न आग्रह गरे । पाइपलाइन विस्तार र भण्डारण क्षमता वृद्धिका सम्बन्धमा सभापति अन्सारीले सम्बन्धित मन्त्रीसँग स्पष्ट कार्ययोजना र समयसीमा सहितको प्रतिवद्धता माग गरे ।

सभापति अन्सारीले भने, “कुन घरमा कुन कम्पनीको कति सिलिण्डर पुगेको छ भन्ने कुराको जानकारी सम्बन्धित कम्पनी र नियामक निकायलाई हुनुपर्छ । यसका लागि स्थानीय तहसँगको समन्वयमा एकीकृत प्रणाली लागू गर्न ढिलाइ गर्नु हुँदैन । हामीलाई ‘गम्भीर छौँ’ भन्ने जस्ता परम्परागत आश्वासन मात्र चाहिएको होइन । पाइपलाइन निर्माण र भण्डारण क्षमता विस्तारका लागि कति दिनभित्र काम सम्पन्न हुन्छ, त्यसको स्पष्ट कार्यतालिका मन्त्रीज्यूले सार्वजनिक गर्नुपर्छ । लक्ष्यसहितको प्रतिवद्धता नभएसम्म सुधार सम्भव छैन ।”

सभापति अन्सारीले सहरी क्षेत्रका हाउजिङ कोलोनी र अपार्टमेन्टहरूमा ग्यास आपूर्तिलाई व्यवस्थित गर्न सामूहिक वितरण प्रणालीको अवधारणा अघि सारे। अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउँदै ठूला हाउजिङमा आफ्नै भण्डारण र पाइपलाइन प्रणाली जडान गर्न ग्यास उद्योगीहरूलाई पहल गर्न उनले आग्रह गरे । यस्तो प्रणालीले वितरणलाई थप व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने उनको विश्वास छ ।