पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुटको निर्णय,अन्तराष्ट्रिय उडान आर्कषित गर्ने सरकारको प्रयास


काठमाडौँ । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेर अन्तराष्ट्रिय उडान आर्कषित गर्ने प्रयास गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई लक्षित गरेर आगामी भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ ।

यस्तै, ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ ।

फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि देखि पोखरा–दुबई सीधा उडान सेवा सुरु गर्ने तयारी गरिरहेका बेला सरकारको यो निर्णय आएको हो ।

सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

दुबई–पोखरा–दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाई दुबईले टिकट बुकिङ खुला गरिसकेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ महिनामा फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो । फ्लाई दुबईले उडान तालिकासमेत सार्वजनिक गरिसकेको छ ।