शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


काठमाडौँ । उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले आज अग्रवाललाई बैंकिङ् कसुरमा पुर्पक्षमा लागि थुनामा पठाउन आदेश दिएको हो ।

आदेशमा ‘जगदम्बा स्टिल्स लिमिटेडले नेपाल इन्भेष्टमेन्ट बैंकबाट लिएको कर्जा उपयोग सम्बन्धमा नेपाल राष्ट्र बैंकले तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदन, सहप्रतिवादीहरू सुलभ अग्रवाल र दिपक भट्टले गरिदिएको अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान समेतका तत्काल प्राप्त प्रमाणहरूका आधारबाट यी प्रतिवादीले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ६ को प्रतिकूल कार्य गर्नमा निजको समेत भूमिका रहेको भन्ने देखिन आएको’ उल्लेख छ ।

आदेशमा थप भनिएको छ,“ एकै परिवारका सदस्यहरू जगदम्बा स्टिल्सको खाता सञ्चालन गर्ने प्रयोजन तोकिएको र वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा लिएको हो सो प्रयोजनमा नलगाई अन्यन्त्र प्रयोग गरी कर्जाको दुरूपयोग गर्न परिवारको सदस्यको हैसियतले मद्दत पुर्याइरहेको भन्ने मिसिल संलग्न कागजातबाट देखिएको अवस्थामा प्रमाण बुझ्दै जाँदा पछि ठहरे बमोजिम हुने नै हुँदा हाल मुद्दा पुर्पक्षका लागि प्रतिवादीलाई थुनामा राख्न मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनुवा पुर्जी दिई कारागार कार्यालय नख्खु ललितपुरमा पठाइदिनू ।”

जगदम्बा स्टिल लिमिटेडले कन्सोरियम बैंकको तर्फबाट नेपाल इन्भेष्टमेन्ट बैंक (हाल एनआइएमबी) को अगुवाइमा चालु पुँजी तथा अल्पकालीन कर्जाहरू लिएको थियो ।

तर, उक्त कर्जा जुन प्रयोजनका लागि लिइएको हो सो प्रयोजनमा नलगाई योजनाबद्ध रूपमा दुरूपयोग गरिएको नेपाल राष्ट्र बैंकको वित्तीय कारोबार अनुगमन तथा विशेष स्थलगत निरीक्षण प्रतिवेदनमा देखिएको आदेशमा भनिएको छ । अग्रवाललाई हिजो मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो ।