संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यक छः विप्लव


काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान संसदीय पद्धतिमा आधारित कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त भएको टिप्पणी गरेका छन् । 

बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले अब कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

संसदीय अभ्यासमा लागेका कम्युनिस्ट पार्टीहरूले दुई–तिहाइ बहुमत नजिक पुगेर पटक–पटक सरकारको नेतृत्व गरे पनि राज्यका निकायहरूमा कुनै ठोस परिवर्तन गर्न नसकेको उनको आरोप छ ।

मुलुकको विद्यमान राजनीतिक सङ्कट समाधानका लागि नेपालको राजनीतिले नयाँ निकास खोजिरहेको उल्लेख गर्दै उनले चार मित्र शक्तिहरूबिचको सहकार्यमा जोड दिए । देशका शक्तिहरू गम्भीर भएर एकै ठाउँमा उभिए मात्र मुलुकले नयाँ दिशा पाउने उनको तर्क छ । 

उनले भने, “हाम्रो दृष्टिमा संसदीय कम्युनिस्ट आन्दोलन आफ्नो उद्देश्यअनुसार सफल हुन सकेन । सरकारको नेतृत्व गरे पनि राज्यका संरचनामा अपेक्षित परिवर्तन गर्न नसकेकाले यसलाई नयाँ दृष्टिकोणबाट पुनर्गठन गर्न आवश्यक छ । नेपालको राजनीतिले पनि नयाँ निकास खोजिरहेको अवस्थामा देशका प्रमुख राजनीतिक शक्तिहरू गम्भीर छलफलमा जुट्नुपर्ने आवश्यकता छ । कम्युनिस्ट शक्तिहरूले आफ्नो लक्ष्य र उद्देश्यलाई स्पष्ट गर्दै केवल एकतामा सीमित नभई जनताका साझा समस्याको समाधान गर्ने व्यापक र एकीकृत आन्दोलन निर्माण गर्नुपर्ने हाम्रो धारणा छ ।”

महासचिव विप्लवले कम्युनिस्टहरूबीचको एकता मात्र पर्याप्त नहुने बताउँदै आम जनताका समस्याहरूलाई सम्बोधन गर्ने गरी एकीकृत आन्दोलन निर्माण गर्नुपर्ने बताए ।  कम्युनिस्टहरूले आफ्नो मूल लक्ष्य र उद्देश्यलाई आत्मसात् गर्दै जनतालाई सही दिशा निर्देश गर्नुपर्नेमा उनले जोड दिए ।