काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको अवस्थाबारे वास्तविक समयको जानकारी दिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ।
संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप सार्वजनिक गर्नुभएको हो। एपमार्फत जीपीएस जडान भएका करिब १ हजार २ सय सार्वजनिक सवारी साधनको स्थान तथा यात्रुले पर्खिएको ठाउँमा पुग्न लाग्ने अनुमानित समयबारे जानकारी लिन सकिनेछ।
बैठकले रात्रिकालीन बस सेवा विस्तार, विद्यार्थीका लागि बिहानैदेखि सार्वजनिक यातायात सञ्चालन, मुख्य बस स्टप तथा बस पार्कमा जीपीएसमा आधारित सूचना प्रणाली जडान र नगदरहित भाडा प्रणालीका लागि कानुनी पूर्वाधार तयार गर्ने कार्यक्रम स्वीकृत गरेको छ।
परिषद्ले सार्वजनिक यातायातलाई स्थानीय तहबीचको साझा विषयका रूपमा लिएर समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिएको छ। बैठकमा यसअघिका दुई बैठकका निर्णय तथा प्राधिकरणले गरेका कामको समेत समीक्षा गरिएको थियो।
सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापनसम्बन्धी कानुनअनुसार संघीय राजधानीसहित देशभर आठ वटा सार्वजनिक यातायात प्राधिकरण रहने व्यवस्था छ। प्राधिकरणलाई रुट निर्धारण, यात्रुमैत्री यातायात सञ्चालन, क्यासलेस तथा रियलटाइम सूचना प्रणाली विकासलगायत जिम्मेवारी दिइएको छ।


प्रतिक्रिया दिनुहोस्