माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी


काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि उत्पादन वृद्धि गर्न सरकारले माटो सुधार योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् ।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले माटोको गुणस्तर सुधारसँगै किसानलाई उत्पादन, बजारीकरण र व्यवसायसँग जोड्ने गरी किसान सूचीकरण र डिजिटल मार्केटप्लेस निर्माणको योजना अघि बढाइएको जानकारी दिइन्।

माटोको उर्वराशक्ति जोगाउन जैविक तथा प्राङ्गारिक पदार्थको प्रयोगमा जोड दिँदै कार्ययोजना बनिरहेको उनले बताइन् । नेपालको माटोको पीएचस्तर घट्दै गएको उल्लेख गर्दै उनले दीर्घकालीन रूपमा माटो संरक्षणका लागि जैविक, प्राङ्गारिक तथा दिगो कृषि प्रणालीतर्फ अघि बढ्नुपर्ने आवश्यकता औल्याइन् ।

मन्त्री चौधरीका अनुसार किसान परिचयपत्रमार्फत किसान र उनीहरूले उत्पादन गर्ने वस्तुको विवरण व्यवस्थित गरिनेछ । उत्पादनलाई बजारसँग जोड्न एप्लिकेसन विकास गरी डिजिटल मार्केटप्लेस निर्माण गर्ने काम पनि अघि बढिरहेको छ ।

विगतका कृषि योजनामा देखिएका कमजोरीको पुनःविश्लेषण गर्दै तीन तहका सरकारबीच समन्वय र सहकार्य बढाउने गरी कार्यविधि सुधार भइरहेको उनले बताइन् । कृषि क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी र सहभागितालाई समेत सरकारले प्राथमिकता दिएको उनको भनाइ छ ।