सम्भावित ‘अल निनो’ वर्षालाई मध्यनजर गर्दै केन्यामा पूर्वतयारी तिब्र


केन्या सरकारले आगामी अक्टोबरदेखि डिसेम्बर महिनासम्म हुने सम्भावित ‘अल निनो’ वर्षाका कारण अर्थतन्त्र, जनजीवन र पारिस्थितिक प्रणालीमा पर्नसक्ने क्षति न्युनिकरणका लागि पूर्वतयारीका कार्यहरूलाई तिब्र पारेको छ ।

वातावरण तथा जलवायु परिवर्तन विभागका सचिव फेस्टस एनगेनोले बुधबार दिएको जानकारीअनुसार अक्टोबरदेखि जनवरीको शुरुवातसम्म देशका विभिन्न भागमा अल निनो वर्षा हुने सम्भावना ८० प्रतिशतभन्दा बढी छ । सचिव एनगेनोले पूर्वसूचनाका आधारमा समयमै कदम चाल्नसके सम्भावित जोखिम कम गर्न सकिने बताए । 

“पूर्वतयारीले हामीलाई समयमै ठोस कदम चाल्न मद्दत पु¥याउँछ । वर्षा भइसकेपछि हुने क्षतिको विवरण संकलन गर्नुभन्दा पनि वर्षा शुरु हुनुअघि नै क्षति हुन नदिने उद्देश्यका साथ सरकारले यसपटक विशेष योजना बनाएको छ,” एनगेनोले भने । 

उनकाअनुसार वर्षा शुरु हुनुअघि नै जोखिमयुक्त क्षेत्रहरूको पहिचान (म्यापिङ) गर्ने कार्य भइरहेको छ । केन्यालगायत पूर्वी अफ्रिका र ‘हर्न अफ अफ्रिका’ क्षेत्रका देशहरूमा यस वर्षको अन्त्यमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

यस्ता चरम मौसमी घटनाहरूले सम्बन्धित देशहरूको पूर्वतयारी र विपद् व्यवस्थापन क्षमतामा चुनौती थप्ने देखिएको छ । सरकारले सम्भावित बाढी र डुबानबाट हुनसक्ने मानवीय तथा आर्थिक क्षति कम गर्न उच्च सतर्कता अपनाउन र आवश्यक प्रतिकार्यका लागि तयार रहन निर्देशन समेत दिएको छ ।