यातयात व्यवसायीलाई अध्यक्ष सिटौलाको आग्रह, ‘तोकिएको भाडाभन्दा बढी नलिनुस्, बरु कम लिनुस्’


काठमाडाैँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातयात व्यवसायी तथा चालकहरुलाई तोकिएको भाडाभन्दा बढी भाडा नलिन आग्रह गरेका छन् ।

पोखरेली ट्याक्सी सेवा प्रालिको वार्षिकोत्सवमा उनले विपद्को समयमा बरु कम भाडा लिन आग्रह गरेका हुन् । उनले भारी वर्षाका कारण विभिन्न राजमार्गमा यातायात अवरुद्ध भएकाले विपद्को समयमा जबर्जस्ती सवारी नचलाउन पनि आग्रह गरे ।

स्थानीय प्रशासन, विपद् व्यवस्थापन निकाय र मौसमविद्ले दिएका सूचनालाई अक्षरशः पालना गर्नुपर्नेमा उनले जोड दिए । प्रशासनसँग समन्वय नगरी जबर्जस्ती सवारी चलाउन नहुने उनले बताए । उहाँले हाल विपद्मा परेका यात्रुको उद्धारलाई प्राथमिकता दिन पनि सबै यातायात संघ, संस्था र कम्पनीलाई आग्रह गरे ।

रसुवा वाढीका कारण ठूलो मानविय तथा भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दे उहाँले वाढी प्रभावितको उद्धार कार्यमा सहयोग गर्न र आवश्यक रकम तथा स्रोतसाधन परिचालन गर्न समेत अनुरोध गरे।

सिटौलाले बाढी प्रभावित क्षेत्रमा ठुलो संख्यामा यात्रु, चालक र सवारी साधन बेपत्ता भएको बताए । उनले चालक, सहचालक, यात्रु तथा यातयताको खोज तथा उद्धार कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग  गरे ।

उनका अनुसार रसुवा, त्रिशूलीलगायतका क्षेत्रमा हजारौँ सवारी साधनको अवस्था अज्ञात रहेको छ । उनले देशभर रहेका सवारी साधन, यात्रु र चालकको विवरण संकलन गरी केन्द्रीय कार्यालयमा पठाउन महासंघको प्रदेश तथा जिल्ला तहलाई आग्रह गरे ।

पोखरेली ट्याक्सी सेवा प्रालिले वाढी पीडितहरुको सहयोगको लागि ३ लाख रुपैयाँ सहयोग गर्ने निर्याय गरेकोमा अध्यक्ष सिटौलाले धन्यवाद दिए। उनले यातयात क्षेत्र पीडित भएपनि आफ्नो क्षमताअनुसार सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।– न्युज एजेन्सी नेपाल