बाढीपहिरोले राष्ट्र निर्माणमा खटिने दक्ष जनशक्तिको ठूलो क्षति भएको छः अध्यक्ष ओली


काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीका कारण राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने दक्ष जनशक्तिको अपूरणीय क्षति भएको बताएका छन् । 

आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि महासचिव शंकर पोखरेलद्वारा प्रश्तुत प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले बेपत्ता र मृत्यु हुनेमा ४० वर्ष मुनिका इन्जिनियर तथा प्राविधिकहरू ठूलो संख्यामा रहेको उल्लेख गर्दै यसले मुलुकको पुनर्निर्माण र विकासका कार्यमा जनशक्तिको अभाव खड्किने चिन्ता व्यक्त गरे ।

अध्यक्ष ओलीले पीडितहरूको पुनस्र्थापना केवल घर निर्माणमा मात्र सीमित हुन नहुने बताए । पीडितहरूलाई सामान्य जीवनमा फर्काउन र उनीहरूको स्थायी आम्दानी सुनिश्चित गर्न प्रदेश सरकारले ‘बाढीपीडित पुनस्र्थापना कम्पनी’ जस्ता अवधारणामा काम गर्नुपर्ने उनको सुझाव थियो ।

पीडितहरूले उत्पादन गरेका वस्तुलाई ब्राण्डिङ गरेर बजार व्यवस्थापन गर्न सके उनीहरूको आर्थिक अवस्था सुधार हुने धारणा उहाँले राख्नुभयो । प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएकाहरूको शव व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको अध्यक्ष ओलीले उल्लेख गरे । धेरै शवहरू पहिरोमा पुरिएका र कतिपय नदीले बगाएर भारतसम्म पु¥याएकाले यथार्थ विवरण संकलन गर्न कठिन भइरहेको उनको भनाइ छ ।

उनले बाढीले क्षतविक्षत पारेका शवहरूको पहिचान गर्नसमेत समस्या भइरहेको भन्दै यस्तो अवस्थालाई ‘दर्दनाक’ संज्ञा दिए । राहत वितरण कार्यलाई व्यवस्थित र न्यायोचित बनाउन अध्यक्ष ओलीले निर्देशन दिए ।

कतै दोहोरिने र कतै अभाव हुने स्थिति आउन नदिन एकद्वार प्रणाली र तथ्याङ्कका आधारमा कम्तीमा एक महिना पुग्ने खाद्यान्न प्याकेज उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।

विशेषगरी दीर्घरोगीहरू (ब्लड प्रेसर, सुगर आदि) का लागि नियमित औषधिको अभाव हुन नदिन स्वास्थ्य टोली परिचालन गरी तत्काल सम्बोधन गर्न उनले ध्यानाकर्षण गराए । 

विपद्को यस घडीमा वागमती प्रदेश कमिटीलाई केन्द्र बनाएर सबै प्रदेश र जिल्ला कमिटीहरूले समन्वयकारी भुमिका खेल्नुपर्ने अध्यक्ष ओलीले बताए । उनले राजधानी प्रदेश (वागमती) लाई अझ सक्रियताका साथ परिचालन हुन निर्देशन दिँदै यो विशाल चुनौतीलाई सामना गरेर जनजीवन सामान्यीकरण गर्न एमाले दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।–न्युज एजेन्सी नेपाल