ग्यास आपूर्ति सहज बनाउन निगम र उद्योगी सक्रिय,उद्योगलाई वैकल्पिक प्लान्टबाट सिलिन्डर भर्ने अनुमति


काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासमा भएको एलपी ग्याँस उद्योगले पायक पर्ने बाहिरी जिल्लाका ग्यास उद्योगबाट सिलिन्डर बिक्री वितरण गर्न पाउने भएका छन् ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यका र आसपासका जिल्लामा रहेका उद्योगका ग्यास बुलेट रोकिएपछि ग्यास अभाव हुन नदिन एकले अर्को उद्योगमा आफ्ना ग्यास बुलेट खाली गराएर सिलिन्डर भर्ने र बिक्री वितरण गर्न पाउने भएका हुन् ।

नेपाल आयल निगमका उच्च अधिकारी र ग्यास उद्योगीहरूबिच आज बसेको बैठकले कृष्णभीरको सडक नखुल्दासम्म आफूलाई पायक पर्ने ग्यास उद्योगमा बुलेट खाली गरेर सिलिन्टर भर्न पाउने व्यवस्था गरेको हो ।

बैठकले बाढीका कारण कृष्णभीरको बाटो सञ्चालन नहुञ्जेलसम्मका लागि सुरक्षा तथा अति आवश्यक क्षेत्रका लागि धादिङ, चितवन,मकवानपुर, बारा,पर्सा,काठमाडौँ तथा काभ्रे जिल्लामा रहेका ग्यास उद्योगले कम्तीमा १८ मे.टन. रिजर्भ राख्ने निर्णय गरेको छ

निगमले बारा,पर्सा,चितवन, मकवानपुर, नवलपरासी र पर्सा जिल्लामा रहेको ग्यास उद्योगहरू तथा आफूलाई पायक गर्ने अन्य जिल्लाका ग्यास उद्योगहरुसँग समन्वयन गर्न भनेको छ ।

अब कृष्णभीरको सडक अवरुद्ध हुँदा ग्यास बुलेट भित्र्याउन नपाएका उद्योगले अन्य उद्योगसँग समन्वय गरेर आफ्ना बुलेट खाली गराएर सिलिन्डर भर्न पाउनेछन् । यसरी भरिएको सिलिन्डर बैकल्पिक बाटोबाट काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गर्ने भनिएको छ ।

यस्तै,बैठकले बाढीका कारण कृष्णभीरको बाटो सञ्चालन नहुञ्जेलसम्मका लागि सुरक्षा तथा अति आवश्यक क्षेत्रका लागि धादिङ, चितवन,मकवानपुर, बारा,पर्सा,काठमाडौँ तथा काभ्रे जिल्लामा रहेका ग्यास उद्योगले कम्तीमा १८ मे.टन. रिजर्भ राख्ने निर्णय गरेको छ ।