काठमाडौं । रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको संख्या अझै यकिन हुन नसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सोमबार बिहान ९ बजेसम्म विभिन्न आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन्। स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय, राष्ट्रिय निकुञ्ज तथा जलविद्युत् आयोजनाबाट विवरण संकलन भइरहेको भन्दै उनले खोजी जारी रहेकाले संख्या घटबढ हुन सक्ने बताइन्।
बाढी प्रभावित जलविद्युत् आयोजना तथा सुरुङमा खोज तथा उद्धार अभियान जारी छ। हालसम्म हाइड्रोका सुरुङबाट मात्रै २८९ जनाको उद्धार गरिएको महतले जानकारी दिइन्। आइतबार चिनियाँ १५ र भारतीय ७ गरी थप २२ जनाको उद्धार गरिएको थियो।
प्राधिकरणका अनुसार हालसम्म बाढीमा परी ९०३ जनाको शव फेला परेको छ भने १० हजारभन्दा बढीको उद्धार गरिएको छ। घाइतेमध्ये २६७ जना उपचारपछि घर फर्किएका छन्।
सम्पर्कविहीनको खोजीका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ। अवरुद्ध सडक तथा सञ्चार सेवा अधिकांश क्षेत्रमा सञ्चालनमा आइसकेको र वैकल्पिक मार्ग प्रयोग गरी आवागमन सहज बनाइएको प्राधिकरणले जनाएको छ।
उद्धार, राहत, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता समन्वयलगायतका कामका लागि प्राधिकरणले करिब १४ वटा कार्यदल परिचालन गरेको छ।


प्रतिक्रिया दिनुहोस्