बाढीले क्षतिग्रस्त सडक पुनर्निर्माणमा जोड दिन एमाले सांसद कँडेलको माग


काठमाडाैँ । नेकपा (एमाले)का सांसद डा. पुष्पराज कँडेलले १० भदौको भीषण बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा उनले बाढीबाट धादिङ सदरमुकाम, नुवाकोट र रसुवाका विभिन्न क्षेत्रको यातायात सम्पर्क प्रभावित हुँदा राहत वितरणमा समेत समस्या भएको बताए ।

उनले धादिङको कृष्णभीर र परेवाभीरमा गएको पहिरोको कारण सम्पर्कविच्छेद भएको पृथ्वीराजमार्ग खुलाउन तथा वैकल्पिक मार्ग निर्माण गर्न समेत सरकारसँग माग गरेका छन् ।

सांसद कँडेलले बाढीका कारण मुलुकको कुल गार्हस्थ उत्पादनमा करिब १० प्रतिशतसम्म ह्रास हुनसक्ने समेत बताए । सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न समेत उक्त, बाढी चुनौतीपूर्ण भएको उनले उल्लेख गरे ।

बुढीगण्डकी आयोजना आफैँ अघि नबढ्ने र त्यसका कारण अन्य विकासका काम समेत प्रभावित भइरहेकाले आयोजनाको डीपीआर तथा डिजाइन पुनरावलोकन गर्नुपर्नेमा समेत उनको जोड छ । 

उनले विपद्पछि खोज, उद्धार र राहत वितरण प्रभावकारी बनाउन समेत सरकारको ध्यानाकर्षण गराए ।