त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा बढ्दो आशा,सुरुङभित्र थुनिएका व्यक्तिहरूको ‘आवाज सुनियो’


काठमाडौँ । रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आवाज आएको जानकारी गराएका छन् ।

भोटेकोशी बाढीका कारण त्रिशूली ३ ‘ए’ भित्र फसेका व्यक्तिको उद्दार १० औँ दिन जारी छ । न्यौपाने सुरु देखि नै त्रिशूली ३ ‘ए’ को उद्दारमा खटिएका छन् ।

भित्रबाट आवाज आएपछि सुरुङभित्र छिरेर सेना र सशस्त्र प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको समाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्,“भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ । सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो ।”

भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको पनि उनले जानकारी दिएका छन् । न्यौपानेले भनेका छन्,“उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ ।”