काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय किसान ज्यानकै जोखिम मोलेर कृषि उपज बजारसम्म पु¥याउन बाध्य भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा खसेको पहिरो र त्यसले निम्त्याएको अवरोध छिचोल्दै किसानले आफ्नो उत्पादन विक्रीका लागि बजार लैजाने गरेका हुन् ।
वर्षातका कारण कृष्णभीर क्षेत्रमा निरन्तर खसिरहेको पहिरो र चुनौतीपूर्ण सडक अवस्थाका बाबजुद स्थानीयहरूले आफूले उत्पादन गरेको तरकारी बेनीघाट बजारसम्म ल्याइरहेका छन् ।
भौगोलिक विकटता र प्राकृतिक प्रकोपका कारण सडक सञ्जालमा अवरोध सिर्जना भएपछि किसानले तरकारीका भारी बोकेरै जोखिमपूर्ण यात्रा तय गर्नुपरेको हो ।
पहिरोग्रस्त क्षेत्रमा खसेका ढुङ्गा र लेदो माटोको प्रवाहका बीच कृषि सामग्री ढुवानी गर्दा कृषकहरूले ठूलो सास्ती खेप्नु परेको छ । उत्पादित वस्तु बजारसम्म पु¥याउन नसके लगानी डुब्ने डरले उनीहरू यसरी जोखिमपूर्ण रूपमा बजारतिर आउन विवश भएका हुन् ।
अवरुद्ध र जोखिमयुक्त बाटोका कारण बजारीकरणमा समस्या उत्पन्न हुँदा स्थानीय किसानको आयआर्जनमा समेत गम्भीर असर पुगेको छ । गत भदौ १० गतेको त्रिशूली नदीको बाढीका कारण कृष्णभीर, परेवाभीर लगायतका नदी तटिय क्षेत्रको सडक अवरुद्ध छ ।


प्रतिक्रिया दिनुहोस्