कृष्णभीरको समस्या समाधानका लागि सुरुङमार्ग र वैकल्पिक पुलको अध्ययन हुँदैछः महानिर्देशक डा. जैसी


काठमाडाैँ । सडक विभागले धादिङको कृष्णभीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारेको छ ।

विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार स्थलगत अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कृष्णभीरको भौगर्भिक अवस्था र भावी योजनाबारे जानकारी दिएका हुन् ।

महानिर्देशक डा. जैसीकाअनुसार हालैको वर्षा र बाढीले कृष्णभीरको तल्लो भाग कटान गरेपछि पहिरोको समस्या पुनः देखिएको हो । यातायात सञ्चालनका लागि विभागले रातदिन काम गरिरहेको उनले बताए ।

उनले भने, “रसुवाको बाढीपछि सिर्जित समस्याले यहाँको सुरक्षा पर्खाल (वाल) भत्काएपछि पहिरो फेरि सक्रिय भएको हो । अहिले ट्रयाक खोल्ने क्रममा भित्री भागमा सोचेभन्दा बढी दरार (क्र्याक) हरु देखिएका छन् । ती दरारलाई तत्काल सिल गर्ने र विज्ञहरूको परामर्शमा थप विश्लेषण गर्ने काम भइरहेको छ । विश्व बैंकको ठेक्का अन्तर्गतका निर्माण व्यवसायी र उपकरणहरू परिचालन गरिएको छ । रात्रिकालीन समयमा पनि फ्लड लाइट जडान गरी जोखिम न्यूनीकरण गर्दै काम भइरहेको छ । प्राविधिक जटिलताका कारण ठ्याक्कै मिति तोक्न कठिन भएपनि उच्च प्राथमिकताका साथ सडक सञ्चालन गर्ने हाम्रो प्रयास जारी छ ।”

कृष्णभीरको स्थायी समाधानका लागि विभागले दुई वटा मुख्य विकल्पमा अध्ययन गरिरहेको महानिर्देशक जैसीले बताए । उनकाअनुसार पहिलो विकल्पमा त्यहाँ सुरुङमार्ग (टनेल) निर्माण गर्ने र दोस्रो विकल्पमा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक विस्तारका लागि दुईवटा पुल बनाउने विषयमा गृहकार्य भइरहेको छ ।

उनले भने, “यी दुईमध्ये जुन प्राविधिक रूपमा उपयुक्त र लागतका हिसावले किफायती हुन्छ, त्यसलाई नै हामीले अगाडि बढाउनेछौँ ।’
त्रिशूली करिडोर र अन्य क्षेत्रमा क्षति भएका करिव २९ वटा पुलहरूको मर्मत सम्भार र पुनर्निर्माणलाई विभागले प्राथमिकतामा राखेको छ । 
धादिङको फुर्केखोला पुलको विषयमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘त्यहाँको ९४ मिटर लामो स्पानमा पिलरबिनाको बेलीब्रिज राख्ने विषयमा चिनियाँ विशेषज्ञहरूसँग परामर्श भइरहेको छ । चीनबाट आएको १०० मिटरको पुल त्यहाँ जडान गर्न सकिएमा २ देखि ३ हप्ताभित्र यातायात सुचारु गर्न सकिनेछ ।”

सडक विभागसँग पुल निर्माणमा आवश्यक दक्षता रहेको उल्लेख गर्दै उनले क्षतिग्रस्त संरचनाहरूलाई यथाशक्य छिटो पुरानै अवस्थामा फर्काइने प्रतिवद्धता व्यक्त गरे । देशभरका करिव १४ हजार किलोमिटर सडक सञ्जाललाई व्यवस्थित राख्न चुनौती भएपनि स्रोत र साधनले भ्याएसम्म विभाग २४ सै घण्टा खटिएको  न्युज एजेन्सी नेपालसँग कुरा गर्दै  डा. जैसीले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य तथा भौतिक पूर्वाधार मन्त्रालयका सचिवसहितको टोलीले पनि कृष्णभीरको वस्तुस्थिति अवलोकन गरी छिटोभन्दा छिटो समस्या समाधान गर्न निर्देशन दिएको छ । सडक विभागले जनसाधारणलाई धैर्य गर्न अनुरोध गर्दै सुरक्षित सडक सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने जनाएको छ ।