काठमाडाैँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रूपैयाँ सहयोग गरेकाे छ ।
हालै रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार सहयोग प्रदान गरेको हाे।
उक्त सहयोग नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
सो अवसरमा अध्यक्ष ऋतु सिंह वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन्।
उनले विशेषगरी नाइमाका सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट यो सहयोग प्रदान गरिएको उल्लेख गर्दै संकट र विपद्का समयमा नाइमा सँधै सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरिन् ।
“यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,” उनले बताइन् ।
अर्थमन्त्री डा. वाग्लेले नाइमाले प्रदान गरेको सहयोगको प्रशंसा गर्दै विपद्को यस संवेदनशील र कठिन घडीमा प्राप्त यस्तो सहयोग अत्यन्त मूल्यवान् रहेको बताए।


प्रतिक्रिया दिनुहोस्