हङकङमा ११ औँ ‘बेल्ट एन्ड रोड’ शिखर सम्मेलन सुरु ७० देशका ६ हजार प्रतिनिधि सहभागी, ३२ सम्झौतामा हस्ताक्षर


काठमाडाैँ । विश्व भूराजनीतिमा तीव्र ध्रुवीकरण र आर्थिक विभाजन बढिरहेका बेला चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई थप गति दिने उद्देश्यसहित हङकङमा ११ औँ शिखर सम्मेलन सुरु भएको छ ।

विश्वका ७० मुलुकका ६ हजारभन्दा बढी उच्च सरकारी अधिकारी, लगानीकर्ता तथा व्यावसायिक नेतृत्वकर्ताहरू सहभागी यस सम्मेलनले विभाजित विश्वलाई जोड्ने आर्थिक ‘सुपर-कनेक्टर’ का रूपमा हङकङलाई प्रस्तुत गरेको छ ।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै हङकङका प्रमुख कार्यकारी जोन लीले वर्तमान विश्वमा देखिएको भूराजनीतिक तनावका बिच बिआरआईले प्रस्ताव गरेको ‘सम्पर्क सञ्जाल, सहकार्य र सहमति’ सबैभन्दा महत्त्वपूर्ण औजार भएको बताए।

बिआरआईलाई केवल पुरानो सिल्क रोडको निरन्तरताका रूपमा मात्र हेर्न नहुने तर्क गर्दै उनले भने, “यो विगतको नक्सा मात्र होइन, भविष्यको साझा खाका हो। हङकङ त्यही साझा भविष्यलाई मूर्तरूप दिने मुख्य केन्द्र बनिरहेको छ।”

सम्मेलनमा प्रस्तुत तथ्याङ्कले बिआरआई साझेदार मुलुकहरूसँग हङकङको आर्थिक सम्बन्ध नाटकीय रूपमा विस्तार हुँदै गएको देखाएको छ। गत वर्ष मात्रै हङकङ र साझेदार देशहरूबिचको वस्तु व्यापार १७ प्रतिशतले बढेर ३२३ अर्ब अमेरिकी डलर पुगेको छ।

यसबाहेक साझेदार राष्ट्रहरूका झण्डै एक हजार ५ सय कम्पनीले हङकङमा आफ्नो कार्यालय विस्तार गरिसकेका छन् भने १०० भन्दा बढी कम्पनीहरू हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भई विश्वव्यापी पुँजी संकलन गरिरहेका छन्।

हङकङ व्यापार विकास परिषद्का अध्यक्ष फ्रेडरिक माले बीआरआई परियोजना अब सञ्जाल निर्माणबाट अघि बढेर सम्भावनाहरूलाई ठोस आर्थिक लाभमा बदल्ने चरणमा प्रवेश गरेको बताए।

उनले दक्षिण-पूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान), मध्य एसिया, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकालाई आगामी दिनमा तीव्र आर्थिक अवसर सिर्जना गर्ने रणनीतिक क्षेत्रका रूपमा औँल्याए।

सम्मेलनको पहिलो दिनमै अन्तर्राष्ट्रिय वित्त व्यवस्थापन, व्यावसायिक परामर्श सेवा तथा अत्याधुनिक पूर्वाधार निर्माणसँग सम्बन्धित ३२ वटा महत्त्वपूर्ण समझदारीपत्र (एमओयू) र सम्झौताहरूमा हस्ताक्षर भएको छ।

यी सम्झौताहरूले साझेदार मुलुकहरूबीच प्रत्यक्ष लगानी र व्यापार सहजीकरणमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।